हिजोदेखि छलफल सुरु गरेको समितिले यो हप्ता भित्रै सहमति खोज्ने गरि निर्णायक वार्ता थालेको बताएको छ । हिजो उपेन्द्र यादवले नेतृत्वको गरेको संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टीसँग छलफल गरेको समितिले आज नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चासँग वार्ता गर्ने भएको छ ।
दिउँसो समितिको कार्यालय नयाँ बानेश्वरमा हुने वार्तामा नेकपा माओवादी मोर्चाले राखेका माग र समितिले आफ्नो तर्फबाट राख्ने एजेण्डाका विषयमा छलफल हुनेछ । समितिले चुनावमा प्रतिवद्धता खोजेपछि असन्तुष्ट दलका एजेण्डामा छलफल गर्ने तयारी गरेको छ ।
आजको छलफलमा नेकपा माओवादीबाट चुनाव बारे प्रतिवद्धता पनि मागिने र उनीहरुका सबै एजेण्डामा खुलेर छलफल गर्ने कार्यदलका सदस्य एमाले नेता रघुजी पन्तले जानकारी दिए ।
पन्तका अनुसार आजको वार्ताका आधारमा समितिले माग पुरा गर्न सक्ने या नसक्ने विषयमा अन्तिम टुङ्गो लगाउने छ ।
आजै नेकपा माओवादीसँग छलफल भएपछि संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी पार्टीसँग निर्णायक वार्ता हुनेछ । हिजोको छलफलका आधारमा आज निर्णायक वार्ता हुने समितिले जनाएको छ । यादव नेतृत्वको मोर्चासँग बेलुका ५ बजे वार्ता गरे पछि समाजवादीसँग पनि छलफल हुनेछ ।
आज हुने छलफलका आधारमा भोलि समितिले बैठक गरेर पुरा गर्न सक्ने र नसक्ने मागमा आधिकारीक धारणा बनाउने नेताहरुले बताएका छन् ।