दिप बहादुर घर्ति
साउन २८ । जाजरकोट जिल्लाको खगेनकोट गाउ विकास समिति वडा नम्बर ६ का हस्त बहादुर खत्रीले दलितको विवाह गरेको भन्दै आफ्नै छोरी रमीता खत्रीलाई माईती घर आउन रोक लगाएका छन् ।

भारतमा कमाई गर्न गएकी छोरी रमीताले रुकुम आठविसकोट गाविस वडा ३ दार्जे का विल्छे चदाराका छोरा मान बहादुर चदारासंग गत वर्षको पुस महिनामा विवाह गरेकी थिईन ।

छोरीलाई लिएर कमाई गर्न आएका कान्छा वावु नरतम खत्रीलाई दाजु हस्त बहादुर खत्रीले छोरीलाई दलितको विवाह गरेको सुनेपछि जाजरकोटबाट तुरुन्त छोरीलाई ल्याउन कडा आदेश दिएपछि अन्य आफन्तको सहयोगमा कान्छा बाबु नरतमले रमितालाई जाजरकोट हल्चौरमा रहेको घरमा पुर्याएका थिए ।

माईती घरमा पुर्याईए पछि रमीतालाई दलित संग विवाह गरेको भन्दै खानेपानीको गाग्री , खाना पकाउने चुलो लगाएतका वस्तुहरु छुन नदिएपछि उनी माईति घरवाट भागेर रमिता रुकुमको आठविसकोट दार्जेमा रहेको श्रीमान मान बहादुरको घरमा पुगेकी थिईन ।

श्रीमानको घर पुगेको खवर पाए लगतै हस्त बहादुरले ज्वाई पक्षका मानिसहरुलाई घरवाट छोरीलाई जवरजस्ती लिनुका साथै ८० हजार रुपैया समेत लुटेर लगेको भन्दै प्रहरी चौकी मैदेमा उजुरी दिएका छन । उत्ता ज्वाई पक्षले दलित संग विवाह गरेको भन्दै छोरी छुटाउनका लागी पैसा लुटेको बहाना बनाएको रमीताका ससुरा विल्छे चदाराले बताए ।

हाल ईलाका प्रहरी कार्यालय आठविसकोटमा रमीता खत्रीले श्रीमान सहित माईती घर जान पाउ भनी उजुरी दिएकी छिन । उजुरी दिए लगतै छलफलका लागि हस्त वहादुर खत्रीको खगेनकोट हल्चौरमा रहेको घरमा ३ पटकसम्म जादा पनी भेट नभएको प्रहरीले बताएको छ ।

स्थानियका अनुसार हस्त बहादुर खत्री प्रहरी आउन साथ घर छोडेर जंगलमा गएर लुक्ने गरेका छन् । यता ज्वाई पक्षलाई माईती पक्षले जसरी भएपनि विना सर्त छोरीसंग सम्वन्ध विच्छेद गर्न दवाव दिने गरेका छन सम्वन्ध विच्छेद नगरे जे पनी हुने धम्की दिने गरेको मान बहादुर चदाराले गुनासो गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।