साउन २८ । देशमा संविधानसभाको निर्वाचन घोषणा भईसकेको बेला विभिन्न दलका नेताहरु भने भारत भ्रमण निम्तो भन्दै दिल्ली दौडाहा मच्चाईरहेका छन् ।
पछिल्लो समय प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरु भारत जाने लहर चलेको छ । त्यसको निरन्तरता भने अझै रोकिएको छैन । र भारतबाट फर्के लगत्तै तीनै नेताहरुले भारतले नेपालमा निर्वाचनको विकल्प छैन, भारत नेपालमा स्थायी शान्ति, लोकतन्त्रको संस्थागत विकास भएको हेर्न चाहेको बतायो, भन्दै त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट नेपाल छिर्छन् ।
त्यसो भए त्यत्ती कुराका लागि किन नेताहरु पालै पालो भ्रमणमा जानु प¥यो नी ? नेताहरुसँग कुनै जवाफ छैन । आलटालमै निम्तो मान्न भन्ने जवाफ फुत्किन्छ ।
नेपाली सञ्चारमाध्यमले पनि यहाँका नेताले भारतमा क–कसलाई भेटे र यहाँ आएपछि के भने भन्नेमात्र समाचार देख्ने परिपाटी अहिलेसम्म पनि उही नैँ छ ।
यस्तो बेला निर्वाचन आयोगले नेताहरुको भारत भ्रमण निर्वाचन आचार संहिता विपरित रहेको भन्दै आपत्ती जनाउँदै आउने गरेको छ । गत बिहिबारमात्र कांग्रेस सभापति नेपाली कांग्रेस महामन्त्री द्धयका साथ भारत भ्रमणगरि स्वदेश फर्किएका छन् । निर्वाचन आयोगका एक आयुक्तले नेताहरुको भारत लगायतको विदेश भ्रमण निर्वाचन आचार संहिता विपरित रहेको भन्दै आपत्ती जनाए ।
आचार संहिता क्रियाशिल रहेका बेला नेताहरु भारत भ्रमणमा गएको र त्यस्ता भ्रमण आचारसंहिता विपरित रहेको आयुक्त पिवी ठाकुरको भनाई छ । 
भारत भ्रमणमा गएर नेताहरुले भारतको समर्थन लिने गरेको र त्यसले चुनावलाई प्रत्यक्ष प्रभाव पार्ने ठाकुरको धारणा छ । ठाकुरले नेताहरुको निरन्तरको भारत भ्रमण आयोगलाई मान्य नहुने विचार व्यक्त गरे पनि त्यसको केही पनि प्रवाह नेताहरुले गरेका छैनन् ।
आचार संहिता लागु भएपछि नेपाली कांग्रेसका सभापति, बरिष्ठ नेता शेरबहादुर देउवा र नेकपा एमालेका बरिष्ठ नेता माधबकुमार नेपाल भारत भ्रमणबाट फर्किएका छन् ।
के पाक्छ त दिल्लीमा
देशमा संविधानसभाको निर्वाचन घोषणा भएपछि एउटा निर्वाचन गराउने पक्ष र अर्को यथास्थितिमा निर्वाचन गराउन हुन्न भन्ने पक्षबीच टकराव बढ्दै गएको छ । यतिसम्म कि यसले देशलाई द्धन्द्धमा धकेल्ने त होइन भन्ने शंका समेत उब्जाउन थालेको छ ।
देशका समस्याहरुका विषयमा देशभित्र बसेर समाधान खोजिनुपर्नेमा नेताहरुको पारा भने दिल्ली दौडाहामा बढी केन्द्रित छ ।
सेयर बजार कारोबार गर्ने एक ब्रोकरको कार्यालयमा यसै विषयमा एक दिन खुबै कुरा चल्यो । एउटाले प्याच्चै भने-  ‘नेताहरु किन दिल्ली जान्छन् भनेको त केटाकेटीलाई मामला गएजस्तै रे क्या ।’

हल्ला गुन्जियो । फेरि उसले भन्यो मामा घरमा केटाकेटी जाँदा छुट्ने बेला लु है भान्जाभान्जी भन्दै ३ ४ सय दिन्छन् त्यसैगरी इन्डियाले नि नेपालका नेतालाई फर्कन बेला यसो बाटो खर्छ दिन्छ रे । त्यसमा धेरैले सहमति जनाए पनि ।
सेयरको कारोबार गर्नेहरु बीच मात्रै होइन सर्वसाधरण, व्यापारी, विद्यार्थी लगायत प्राय सबैमा नेताहरका पारा भने मन नपराएका हुन् कि भन्ने पाउन सकिन्छ ।
यसरी, सर्वसाधरणमा नेताहरुप्रति कति पनि विश्वास नभईरहेको बेला नेताहरु भने आफूले के गर्दैछु भनेर आफूतिर प्रश्न गर्ने गर्दैनन् ।
नेताहरु दिल्ली दौडाहा गर्दा भारतीय मिडियाले कुनै महत्व दिँदैन पनि । किनभने त्यसको अर्थ छैन भन्ने उनीहरुलाई मज्जाले थाहा छ । तर, नेपालमा भने त्यसले कायपटल नै पल्टाउने हो कि भन्ने गरी प्रचार गरिन्छ ।
एक जना बरिष्ठ पत्रकारले भने- ‘आखिर भारतमा हुने केही पनि होइन । नेपाली मिडियालाई मात्रै त्यस्तो लागेको हो । त्यहाँ जान्छन् । भेट्छन् । सबै सामान्य नै हुन्छ ।’
त्यसो भए नेपाली नेताहरुको बेला न कुबेलाको भारत दौडाहा केटाकेटी मामाघर गए झैँ जस्तै नै हो भन्ने या नभन्ने ? यो भने प्रश्न उठ्न सक्छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।