साउन २७ । नेपाल प्रहरीका जुनियर अधिकृतहरू शारीरिक रूपमा अयोग्य देखिएका छन् ।

नेपाल प्रहरीले प्रहरी निरीक्षकका लागि लिइएको शारीरिक तन्दुरुस्ती तथा बाधापार स्वास्थ्य परीक्षण परीक्षामा बहालवाला अधिकांश प्रहरी नायब निरीक्षक (सई) र प्रहरी सहायक निरीक्षक (असई) हरू असफल भई अयोग्य प्रमाणित भएका हुन् ।

शारीरिक तन्दुरुस्तीको परीक्षा भनेको सिनियर अधिकृत र जुनियर अधिकृतहरूका एउटै हुने भए पनि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा लिइएको सो परीक्षामा अधिकांश विभागीय जुनियर अधिकृत असफल भएको राजधानीले खबर  छापेको छ ।

कसैको घुँडा जोडिएको, कसैको भुँडी ठूलो भएको र कोही दौडमा प्रतिस्पर्धा गर्न नसकेर असफल भएको छनोटमा सहभागी एक अधिकृतले बताए । उनका अनुसार सई र असई तथा कतिपय जवानहरू पनि असफल भएका हुन् ।

‘हामीहरू असफल भएपछि विभागले कारबाही गर्नुपर्ने हुन्छ वा विभागबाट हटाउनुपर्ने हुन्छ, हामीले यसअघि नै शारीरिक तन्दुरुस्ती र प्रारम्भिक स्वास्थ्य परीक्षण पास गरेका हुन्छौं, आज असफल हुँदा त पहिला पास गराउनेलाई कारबाही गर्नुपर्नेछ,’ ती अधिकारीले भने । उनका अनुसार निलम्बन नै गरेर जागिर खोस्नुपर्नेसम्मको कारबाही गर्नुपर्नेछ ।तर, संगठनले उनीहरूलाई पुनः काममा खटाउँदै छ र असफल भएकाहरू पनि निर्लज्ज काममा फर्केका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले शारीरिक तन्दुरुस्तीमा सबै प्रहरी कर्मचारी सफल हुनुपर्ने बताए । उनले विभागीय वा बाहिरबाट जसले आवेदन दिएको भए पनि शारीरिक तन्दुरुस्तीमा भेदभाव नगरिएको बताए ।

फौजी संरचनाअन्तर्गत शारीरिक तन्दुरुस्ती र बाधापार पहिलो पाटो भएकाले उनीहरू बहालवाला रहेको अवस्थामा असफल भएका छन् । नेपाल प्रहरीले एक महिनाअघि प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदका लागि १ सय ३५ दरबन्दीमा आवेदन मागेको थियो । सो पदमा ३ हजार ६ सयजना नागरिकले आवदेन दिएका थिए ।

जसमा २ हजारभन्दा बढी विभागीय प्रहरी रहेका छन् । शनिबारसम्ममा २ हजार ३८ जनाको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती र बाधापार परीक्षा सकिएको छ । जसमा अधिकांश विभागीय प्रहरीहरू असफल भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।