
आफ्नो आदेशको अवज्ञा भए राज्य सरकारबाट कडा कदम चालिने चेतावनी पनि उनले दिएकी छन् ।
गोर्खाल्यान्ड आन्दोलन सुरु भएको आठौं दिन उनले यस्तो चेतावनी दिएकी हुन् । ‘दार्जिलिङमा आह्वान गरिएको अनिश्चितकालीन बन्द फिर्ता लिने हो भने पश्चिम बंगाल सरकार गोर्खा जनमुक्ति मोर्चासँग वार्ता गर्न तयार छ ।
तर, कुनै पनि हालतमा यो राज्यको विभाजन भने हुने छैन,’ बनर्जीले चेतावनी शैलीमा शनिबार भनिन् । मोर्चाको आह्वानमा आठ दिनदेखि जारी दार्जिलिङ बन्दले यहाँको जनजीवन अत्यन्तै कष्टकर बनेको छ । यसबीच, हत्या र विस्फोट प्रयासमा संलग्न भएको आशंकमा शनिबार बिहान मोर्चाका एक उच्च नेता पक्राउ परेका छन् । मोर्चाको दार्जिलिङ सहर कमिटीका अध्यक्ष नारायण प्रधानलाई हत्या प्रयास आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको गिरफ्तारीसँगै पछिल्लो आन्दोलनमा पक्राउ पर्नेको संख्या १ सय ४९ पुगेको छ । जारी बन्दले यहाँको दैनिकीलाई कठिन बनाएको पनि समाचारमा उल्लेख छ ।
पहाडी क्षेत्रमा खाद्य अभाव हुन थालेको स्रोतले बताएको छ । अनिश्चितकालीन बन्द आह्वान भएयता सबै पसल र व्यापारिक केन्द्र बन्द छन् । बन्दले सिक्किमसमेत प्रभावित भएको बताइएको छ । मुक्ति मोर्चाका नेता तथा समर्थक मुख्य क्षेत्र र म्याजिस्ट्रेटको कार्यालयमा भेला भएर आफ्ना माग पूरा गर्न र गिरफ्तार भएकाको रिहाइको माग गरिरहेका छन् । यसैबीच, दार्जिलिङमा सञ्चालन भइरहेका तीनओटा नेपालीभाषी स्थानीय केबल टिभीमाथि प्रसारण रोक लगाइएको छ ।