साउन २७  । हीराबहादुर थापाले २०५१ सालदेखि नेपाली स्क्वासमा एकछत्र राज गर्दै आइरहेका थिए । तर उमेरले अर्धशतक प्रहार गर्न लागिसकेका हीरा भन्डै दुई दशकयता शनिबार राष्ट्रिय च्याम्पियन बन्नबाट चुके ।

हीरा ४७ वर्ष को हातबाट उपाधि खोसिए पनि घर बाहिर भने गएन । उनकै १७ वर्षीय छोरा अमृतले पुरुष एकलमा ३- १ को सेटमा जित निकाल्दै नयाँ विजेताका रूपमा उदाए ।

गत वर्षको असोजमा भएको राष्ट्रव्यापी स्क्वासमा पनि उपाधि भिडन्तमा पनि छोरा अमृतले हीरालाई ३-१ ले हराएका थिए । दुई दशकमा पहिलोपल्ट राष्ट्रिय प्रतियोगितामा प्रशिक्षकसमेत रहेका बावुले आफ्नै शिष्य छोराबाट हार्नुपरेको थियो । ‘यसअघि हार्दा झुक्किएर हो कि भन्ने प्रश्न उठेको थियो,’ हीराले भने, ‘यसपल्ट फेरि मलाई हराएर साँच्चै आफू च्याम्पियन रहेको उसले सावित गरिदियो ।’

ढल्केको उमेर र छोराको टेक्निकल रूपमा राम्रो प्रदर्शनले आफू हार्न बाध्य भएको हीराले बताए । पहिलो सेटमा पछि परेको स्थितिलाई उल्टाउँदै अमृतले ३-११, १२-१०, ११-४ र ११-७ ले खेल आफ्नो पक्षमा पारे । सातदोबाटोस्थित स्क्वास एकेडेमीको हलमा बावु-छोराको भिडन्तले दर्शकलाई उत्साहित पारेको थियो । बावुले डटेर खेलेका थिए भने छोरा टेक्निकल स्तरमा अघि देखिन्थे ।

‘बुवाले सिकाउँदा कस्तो मुभमेन्ट गर्नु हुन्थ्यो थाहा थियो,’ अमृतले भने, ‘मैले त्यसैको फाइदा उठाएँ ।’ हीराले स्क्वास नयाँ पुस्तामा हस्तान्तरण भएको पनि बताए । महिला एकलमा हीराकी छोरी तथा अमृतकी दिदी कृष्णा -वर्ष १९) ले उपाधि जितिन् । तेस्रोपल्ट राष्ट्रिय च्याम्पियन बन्ने क्रममा उनले विपना ब्लोनलाई ११-७, ११-३ र ११-५ ले हराएकी हुन् । ‘खुसी लागेको छ,’ कृष्णाले भनिन्,’यस्तै प्रदर्शन गरिहरन चाहन्छु ।’

छोरा र छोरीले पाएको सफलतामा हीरा निकै खुसी थिए । उनले भने,’आफूले हारेकोभन्दा पनि छोराले जितेकामा खुसी छु ।’ बावुसँग खेल्नु १ घन्टाअघि अमृतले जुनियर छात्र एकलमा अर्हान्तकेशर सिंहलाई १२-१०, ११-६ र ११-४ ले हराउँदै उपाधि जितेका थिए ।  साभार: कान्तिपुर

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।