साउन २५ । ट्रान्सफर्मर खरिद घोटाला प्रकरणमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रामेश्वर यादवको समेत प्रत्यक्ष संलग्नता रहेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई तत्काल हिरासतमा लिने बताएको छ ।
अख्तियारले गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा यादव ‘प्रत्यक्ष दोषी देखिएकाले हिरासतमा लिएर कारबाही अघि बढाउने भएको हो ।
गुणस्तरहीन ट्रान्सफर्मर खरिद प्रकरणमा प्राधिकरणका तल्ला स्तरका कर्मचारीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले तिनै कर्मचारीको बयान र उपलब्ध गराएको कागजातका आधारमा कार्यकारी निर्देशक यादव मुख्य दोषी पाइएको ठहर गरेको हो । हिरासतमा लिइएका कर्मचारी र ठेकेदारको बयान र उनीहरूले उपलब्ध गराएको काजगातका आधारमा यादवको रकम भुक्तानीलगायतका कार्यमा प्रत्यक्ष संलग्नता देखिएको पाइएकाले उनलाई तत्काल नियन्त्रणमा लिने तयारी भएको बताइएको छ ।
स्रोतका अनुसार २०६७/६८ मा हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेड चीनमार्फत खरिद गरिएका ट्रान्सफर्मरहरूको भुक्तानी दिने कार्यमा तत्कालीन ग्राहक तथा वितरण शाखाका प्रबन्धक रहेका यादवको प्रत्यक्ष संलग्नता भेटिएको छ । गोप्य दस्तावेजअनुसार हुवेईलाई प्राधिकरणमार्फत तिर्नुपर्ने १ लाख ६० हजार २ सय डलर अर्थात् ११ करोड ५१ लाख ४४ हजार रुपैयाँमध्ये यादवकै स्वीकृतिमा १० करोड ८७ लाख २२ हजार भुक्तानी गरिएको उल्लेख छ । सो रकम यादवले दुई चरणमा गरी हुवेईलाई भुक्तानी गर्न स्वीकृति दिएको आजको राजधानी दैनिकमा खबर छ ।
Comments