जयन्ती लुइँटेल
साउन २४ । निर्दोष ती आँखाहरुलाई आशुँले तुँवालो झैँ ढाक्दा हाम्रा आँखाहरुले पनि असहजको अनुभुति गरे । तर अलिक कठोर मन बनाउनु बाध्यता थियो ।
अलिक गाह्रो पर्दा हाम्रा आँखा त्यहीँ काठे कटेरोभित्र भाडाकुँडा, पानपरागका त्यान्द्राहरु र ती नै छ/सात वटा साबुनहरुमा ठोकिने गर्दथे ।
बाहिर हेर्दा त के नै पो थियो र । उसै हँसिलो अनुहार, मझौला कद-कदमा उति नै मिठो बुढौली हाँसो । लठ्ठै पार्ने थियो । तर, जब विषयतिर हामी छिर्यौँ त्यतिबेला भने हाम्रा आँखाहरु पनि भन्दैथिए एक पटक आशु त बगाँ ।
नयाँ बानेश्वर स्थित ह्राइट हाउस कलेज र रत्नराज्य लक्ष्मी स्कुलको बिचबाट पश्चिम मोडिर्दै अलिक अगाडी जाँदा सानो बाटो आउँछ । त्यसैलाई समातेर अघि बढ्ने हो भने करीब ५० मिटरको दुरीमा उनको सानो काठले बारेको कटेरो दाँया साइटमा ठडिएको छ ।
त्यही कटेरोमा डेढ वर्षदेखि बस्दै आएकी छन् कमला शाही । प्रकाशकी आमा ।
कमला आफ्ना चिचिला सन्तानहरुलाई च्यापेर अर्घाखाँची जिल्लाको छापडाँडा गाविसबाट काठमाडौँ भित्रिएकी थिइन् । स्वास्थ्य अवस्था कमजोर भएपछि श्रीमानलाई समेत उनै कमलाले हेरचाह गर्नुपर्छ ।
कुराको सुरुवातीमा त उनले शहिदकी आमा भनेर चिनाउन चाहिनन् । तर कुराको सिलसिला अघि बढ्दै जाँदा भने उनले आफ्नो छोरा रमेश शाही ‘प्रकाश’ का लागि धेरै पटक आँशु समेत बगाइन् ।
देशको लागि जान्छु आमा पार्टीमा भनेर गएको थियो तर फर्किएन भावुक हुँदै छोरा हिडेको र आफूले टीका लगाएर बिदा गरेको पछिल्लो घटना सम्झिन् । सो बेला उनी पार्टीका मान्छेहरुसँग रोएकी रहेछिन् ।
पाँच वटा छोरा मध्ये जेठोले त सुरुमै सबैसँग बिदा लिईसकेको रहेछन् । बाँकी चारवटा मध्ये साहिलो छोरो रमेश नेकपा माओवादीले जनयुद्ध सुरु गरेपछि मुक्तिको लागि भनेर २०५८ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर लागेका रहेछन् ।
उनलाई २०५९ सालमा एयरपोर्टमा बम राखेर फर्कने क्रममा प्रहरीद्धारा नियन्त्रणमा लिई चरम यातना दिएको रहेछ । पछि ७ महिना जेल राखेरपछि २०६० सालको सारकार माओवादी वार्ताका क्रममा उनी जेल मुक्त हुन पुगे ।
तर जनयुद्धका क्रममा तत्कालिन शाही सेनाले धादिङको भूमिस्थान गाविसको आग्रा खोला नजिकैबाट नियन्त्रणमा लिई यातनापछि २०६० मा हत्या गरियो जतिबेलै कमलाले साइलो कोखसँग पनि सम्बन्ध टाढ्न बाध्य भइन् ।
छोरो गुमाएपछि घटनाक्रम बदलिँदै जाँदा देश शान्ति प्रक्रियामा मडारियो । सुरुका दिनहरुमा उनले आफन्त र चिनेजानेका मान्छेसँग मेरो छोरा देश र जनताको निम्ति सहिद भयो भनेर गर्व गर्ने गर्दिरहिछन् । शहिद छोराको सपनामा आफ्नो र देशको सपना सजाईरहेकी उनले राज्य र पार्टीसँग ठूलै आशा समेत जिवित नै राख्ने गर्दिरहेछिन् ।
तर पछि नेतृत्वको चालबाजीले भने उनलाई चित्त दुख्ने गर्दोरहेछ । नयाँ बानेश्वर चोकको नजिकै पुष्पकमल दाहालको बाबुको नाममा निर्मित “मुक्ति टावर” त्यो बाटो ओहोर दोहोर गर्दा उनले आफ्ना छोराहरुलाई सम्झिन पुग्दिरहेछिन् । कुराकानीका क्रममा उनले शहिद तथा बेपत्ता परिवारका नाममा राज्यकोषबाट पैसा आएको तर सही तरिकाले वितरण नभएको भन्दै दुःख समेत व्यक्त गरिन् ।
गत वर्ष दशै तिहारको अवसरमा बबुरामले सहिद परिवारलाई बालुवाटार बोलाएर खानपान गराएका सम्झदै उनले भनिन् – ‘त्यो भेटमा ३ पेज लामो आफ्ना भावना र सहिद परिवारका माग उल्लेख गरेर दिएकी थिए, तर केही पनि भएन ।’
शहिद परिवारका लागि भनेर आउने सहयोग उनले पनि नपाएकी भने होइन तर राहत लिन जाँदा दुर्घटनामा परेर भाँचिएको खुट्टाको उपचार, सुगर, ब्लडप्रेसर लगायतको उपचार गर्दा नै नपुग्दो रहेछ । त्यही भएर अहिले उनले त्यहाँ कटेरोमा चिया पसल राखेकी छन् । केही पानहरु छन् पसलमा । छ सात वटा साबुन लगायत । अर्डर आएपछि आफैँ चिया पुर्याईदिने गर्छिन ।
आफ्ना छोरा जस्तै १० औँ हजार छोराहरुको सपनामा कतै ठेस त पुगेको छैन भनेर उनमा शंका रहेछ ।
अब तपाईको इच्छा चैँ के त ? हामीले प्रश्न राख्यौँ ।
श्रीमान बिरामले केही गर्न नसक्ने अवस्था, आफू पनि बुढी हुँदै गएको जस्ता विषय उठाउँदै उनले राज्य वा पार्टीले बासको व्यवस्था गरिदिए हुने भन्ने इच्छा देखाइन् ।
बाबुरामलाई त पोहोर नै भेटेर आफ्नो लागि भन्दा पनि शहिदका सपना पूरा गर्नुहोस् भनेर ३ पेज लेखेर दिएको हो । केही पनि भएन । अब प्रचण्डलाई भेट्ने रहर छ उनले निक्कै भावुक भएर भनिन्- ‘भेटेर शहिदका सपनामाथि नखेल्न भन्ने इच्छा छ । अनि, मलाई कि त बस्ने व्यवस्था गरिदेऊ, कि त मलाई नि गोली हानेर मारिदेउ ! म नि छोरोसँगै जान्छु ।’ 
फेरि एकछिनपछि सुस्केरा हाल्दै थपिन्- तर, त्यत्रो पुलिसहरुको घेराभित्र बस्ने मान्छेलाई मैले कसरी भेट्ने र ? कसले पो पुर्याईदिन्छ र मलाई ?
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।