साउन २४ । चीनमा हिजो मात्रै मान्छेबाट मान्छेमा बर्डफ्लु सरेको पुष्टि भयो । किन चीनमा पुगिरहने हाम्रै उपत्यकामा आए नि हुन्छ । यहाँ यतिबेला बर्डफ्लुले महामारीको रुप लिएको छ । दिनहुँ जसो कुखुरा फर्ममा बर्ड फ्लुको लक्षण देखा पर्न थालेपछि सरकारले राजधानीमा एक हप्ताका लागि कुखुरा जन्य वस्तु ओसार पसारमा समेत प्रतिबन्ध लगाएको छ ।
उपत्यकाका विभिन्न ठाउँहरुमा अहिले पनि बर्डफ्लु फेला परिरेको छ । बर्डफ्लु नियन्त्रण भन्दा पनि झनै फैलिएर गएको यसले स्पष्ट हुन्छ । तर सरकारले भने बर्डफ्लुको निर्मुल नै नभई कुखुरा ओसार पसारमा लगाएको प्रतिबन्ध खुल्ला गर्ने निर्णय गरेको छ ।
कुखुरा व्यवसायी र सरकारी निकायवीच बुधवार भएको बैठकमा व्यवसायीले चर्को दबाब दिएपछि विहीवार अपरान्ह ४ बजेदेखि कुखुरा ओसारपसार खुला गर्ने निर्णय गरेको आजको कान्तिपुर दैनिकले खबर छापेको छ ।
परीक्षण गरी स्वस्थ पाइएका कुखुरा मात्र बजारमा लैजान पाइने निर्णय भएको पशु स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा नारायण घिमिरेले बताएका छन् ।
तर महामारीको रुपमा फैलँदै गएको बर्डफ्लु नियन्त्रण भन्दा पनि झनै फस्टाउँदै गएको अवस्थामा स्वस्थ कुखुरा कसरी परीक्षण हुने हो, कतै बर्डफ्लु मानिसमा सरेर दुर्घटना त निम्तने होइन भनेर सर्वसाधरणमा त्रास छाएको छ ।
- प्रतिबन्ध फुकुवा गर्ने तयारी भईरहेको बेला पनि भक्तपुरमा थप ८ वटा फर्मको कुखुरामा बर्डफ्लु ।
- ललितपुरको झरुवारासी गाविसमा सञ्चालित तीन वटा कुखुरा फर्ममा ८ हजार कुखुरा र चल्लाहरु नष्ट गरिएको थियो भने त्यहाँ रोगको पत्ता लाग्नु अघि नै १५ सय आफैँ मरेका थिए ।
- काठमाडौं र भक्तपुरको तीन फर्मबाट २२ हजार ७ सय कुखुरा चल्ला, २ सय अण्डा र ६ सय किलो दाना नष्ट गरिएको थियो ।
- यसअघिको बुधबारसम्म ३१ हजार १ सय ९४ रोगी कुखुरा, २८ हजार १ सय ७२ अन्डा, ३३ केजी मासु, ७ हजार ५ सय १५ केजी दाना नष्ट गरेसँगै कुखुराजन्य वस्तुमा ओसार पसारमा प्रतिबन्ध लगाइएको थियो ।
- बर्डफ्लु पुष्टिपछि कुखुरा नष्ट गरिएको भक्तपुरको जगाती आसपासका बासिन्दाले बस्ती समेत छाडेका थिए ।
- संक्रामक बर्डफ्लु भाइरस तीव्र गतिले परिवर्तित हुने रआनुवंशिकता परिवर्तन हुन्छ । संक्रमित कुखुरा र कुखुराजन्य पदार्थलगायतबाट मानिसमा सर्छ । यस्ता भाइरससँग प्रतिरोध गर्ने क्षमता मानिसमा हुँदैन । एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ । संक्रमण बेलैमा नरोकिए महामारीको रूप लिन सक्छ । उपचार नगरिए श्वास प्रश्वासमा गम्भीर समस्या मृगौलाले काम नगर्ने अरू अंगहरू पनि निष्क्रिय हुने मृत्युसमेत हुन सक्छ । चीनमा मात्र १ सय ३३ विरामी फेला परेकोमा ४३ जनाको मृत्यु ।
- डब्लुएचओको तथ्यांक अनुसार हालसम्म विश्वमा ५ सय ८४ जनामा प्रयोगशाला प्रमाणित बर्डफ्लुको केस देखिएकोमा ३ सय ४५ जनाको मृत्यु भइसकेको छ ।
रोग नियन्त्रण नहुँदै ओसारपसार खुला गरिएकोमा राष्ट्रिय मानव अधिकार आयोगले समेत आपत्ति जनाएको छ ।
यता, बर्डफ्लु नियन्त्रण नहुँदै व्यवसायीको दबाबमा सरकारले कुखुरा ओसारपसार फुकुवा गर्दै गरेको बेला भक्तपुरमा भने थप ८ वटा फर्मको कुखुरामा बर्डफ्लु फेला परेका छन् ।
एक साताअघि निर्णय फुकुवा गर्न कुखुरा व्यवसायी, राजनीतिक दलका नेता र मन्त्रीहरुसमेत लागिपरेको बताइन्छ । हिजो भने कुखुरा व्यवसायीहरुले व्यवसाय नै चौपट्ट भएको र मिडियाले बढाई चढाई प्रचार गरेको भन्दै कुखुरा ओसार पसारमा लगाइएको प्रतिबन्ध खुल्ला गर्न दबाब दिएका थिए ।
जसले जे भने पनि महामारीको रुपमा फैलदै गएको बर्ड फ्लु नियन्त्रण भन्दा पनि झनै थपिर्दै गएको बेला पशु स्वास्थ्य निर्देशनालयले गर्ने जुनसुकै काम पनि सर्वसाधरणको हित विपरित हुन गएमा दुःखदायी मानिन्छ । यसमा सम्बन्धित पक्षले बेलैमा ध्यान नदिने हो भने ठूलो दुर्घटना समेत निम्तने खतरा उत्तिनै छ ।