साउन २३ । भीमदत्तनगरपालिका–१८ का दुई युवकलाई अपहरण गरी फिरौती माग्ने तीन जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीका अनुसार पक्राउ पर्नेमा भारत घर भएका आशिष शाही, रञ्जित सिंह र कञ्चनपुरका बसन्त बराल रहेका छन् । प्रहरीले महाकाली पारीको चाँदनी गाविसको स्याउले बजार नजिकको वन क्षेत्रबाट आशिष शाहीले प्रयोग गर्दै आएको युके०४के ०२२० नम्बरको स्कुटीसहित तीनै जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका रञ्जित सिंहबाट नलकटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरी उपरीक्षक चौधरीले बताए । अपहरणका योजनाकार मानिएका भीमदत्तनगरपालिका–१८ का यादव पाण्डेय भने फरार रहेको उनले बताए ।
साउन १७ गते भारतीय सीमावर्ती वनवसा बजारबाट फर्कदै गरेका भीमदत्तनगरपालिका–१८ महेन्द्रनगरका १६ वर्षीय सुमन चौधरी र सोही ठाउँका २१ वर्षीय भीम चौधरीलाई भारतीय नम्वर प्लेटको गाडीमा आएका अपहरणकारीले हतियार देखाई अपहरण गरी भारतको हल्वानी पु¥याएका थिए ।
सीमावर्ती बजार गएका आप्mना छोराहरू नफर्के पछि उनीहरूका अभिभावकले जिल्ला प्रहरी कार्यालयमा खोजतलासका लागि साउन २० गते निवेदन दिएको भोलि पल्टै अपहरणकारीले अभिभावकलाई फोनमार्फत ‘तपाईका छोराहरू हाम्रा कब्जामा छन् रु पच्चीस लाख लिएर नआए पछि जे पनि हुन सक्छ’ भन्दै फोन गरेको अभिभावकलाई उद्धृत गर्दै उपरीक्षक चौधरीले भने ।
अपहरणकारीले अभिभावकको मोबाइलमा गरेको फोन नम्बरबाट अपहरणकारीलाई फोन गरी फिरौती बुझाउन तयार रहेको बताए पछि उनीहरूले चाँदनीको स्याउले बजारमा भेट्ने ठाउँ दिएपछि सादा पोशाकमा गएको प्रहरीको टोलीले भाग्दै गरेका अवस्थामा तीनै जनालाई पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक चौधरीले राससलाई बताए ।
तीनै जना पक्राउ परे पछि अपहरणकारीले अपहरितलाई सकुशल रूपमा सोमबार साँझ छाडेका थिए । प्रहरीले अपहरणमा परेका दुवैलाई गड्डाचौकी क्षेत्रमा फेला पारी आफन्तका जिम्मा लगाएका छन् ।
अपहरणमा संलग्न तीनै जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन् ।