गोरु काटेर खाएको अभियोगमा पाँच जना पक्राउ

साउन २२ (रासस) । गोरु काटेर खाएको अभियोगमा सोमबार यहाँ पाँचजना पक्राउ परेका छन् ।

 जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक हरिबहादुर बरुवालका अनुसार पक्राउ पर्नेहरुमा सोही गाविस वडा नं ९ का हस्तबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री, राजेन्द्रबहादुर क्षेत्रीका छोरा कृष्णबहादुर क्षेत्री, रेशम पौडेल र शिव भन्ने वेदप्रसाद पौडेल रहेका छन्।

उनीहरुले चिलाउनेबास गाविस वडा नं ८ की पद्माकुमारी पौडेलको गोठमा रहेको गोरु चोरेर वडा नं ९ स्थित अन्धाअन्धी खोलाको किनारमा लगेर काटेर खाएका थिए।

प्रहरी निरीक्षक बरुवालका अनुसार उनीहरुले गोरुको केही मासु खाएका र केही त्यही ठाउँमा पुरेर राखेको अवस्थामा पशुसेवा कार्यालयका पशु विकास अधिकृत महेन्द्र मल्ल र प्रहरीको टोलीले गाडिएको मासु उत्खनन गरी उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकालाई गौबधसम्बन्धी मुद्दा दायर गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।