राजधानीमै तीन वर्षदेखि लगातार बोक्सी ओरापमा कुटपिट

साउन २२ । गाउँघर अलिक बढी अशिक्षित छ । चेतनाका भोकाहरु छन् । त्यसैले त्यहाँ रुढीवादी परम्परा अझै हटेको छैन भन्नु त ठिकै सम्म हुन सक्ला ।

तर, राजधानी काठमाडौँमै बोक्सी आरोपमा एक महिलाले तीन वर्षदेखि लगातार रुपमा कुटाई खाँदै आएको सुन्नुभयो भने चाँही के भन्ने त नि ?
दिनहुँ नारा जुलुस, गोष्ठी सेमिनार र महिला हिंसाका विषयमा गुन्जाएमान भईरहने काठमाठौँ । त्यसैको एक स्थान स्वयम्भू घर भएका विश्व रत्न शाक्यले आफ्नै श्रीमती प्रमिला शाक्यलाई विगत तीन वर्षदेखि बोक्सी आरोपमा कुटपिट गर्दै आएको खुलासा भएको छ ।

पीडित प्रमिला सुरुमा आफूलाई श्रीमानले माया गर्ने गरेपनि पछि बोक्सीको आरोपमा लगातार कुटपिट हुँदै आएको गुनासो गर्छिन् ।

लगातार कुटाई खाईरहँदा कहिले कहीँ त मर्न पाए हुन्थ्यो जस्तै लाग्ने बताइने उनी पछि भने भागेर दिदी सहारामा आई पुगिन् ।

घरमा श्रीमानबाट मात्रै होइन जेठाजुले समेत उनलाई बोक्सी भन्दै कुटपिट गर्ने गर्दथे । यति मात्रै कहाँ हो र, आफ्नै कोखबाट जन्मेका छोराछोरीलाई समेत आमाको नजिक बोक्सी भनेर पर्न दिँदैन थिए परिवारका सदस्यहरुले ।

यसरी सिंगो परिवारबाट पीडित भएकी प्रमिलालाई पछिल्लो पटक भने श्रीमानले मार्ने धम्की समेत दिन थालेका थिए । बारम्बारको कुटपिट र मार्ने धम्कीले मानसिक अवस्था समेत झण्डै गुमाउन पुगेकी उनी त्यसपछि भने भागेर दाजुभाउजुको शरण लिन पुगेकी थिइन् ।

त्यसपछि दाजु भाउजुको सहयोगमा उनले महानगरीय प्रहरी वृत्त बालाजुमा उजुरी दिएसँगै प्रहरीले पनि श्रीमान भनिने विश्वरत्न र दुई बहिनीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

मानवअधिकारवादी, महिलावादी तथा दिनहुँ जसो यसैका विषयमा सेमिनार गोष्ठी, छलफल, तथा र्यालीहरु निस्कने गरेपनि यो घटनाले भने यी सबैका धज्जी उढाईदिएको छ ।

२० वर्षअघि वैवाहिक सम्बन्धमा गाँसिएका यी दुईका दुई छोरा र एक छोरी छन् । सौजन्य: सगरमाथा टिभी