साउन २१ । साउदी अरब सरकारले अवैधानिक तवरले बसीरहेकाहरुलाई कि त घर फर्कन वा त वैधानिक बन्न आममाफी दिएको अवस्थामा करिब ६० हजार नेपाली भने बेखबर बनेका छन् ।

अरबमा ६० हजारभन्दा बढी घरेलु महिला कामदार (हाउसमेड) पुगेको भनिए पनि अहिलेसम्म करिब १ सय ८० बाहेकले स्वदेश फिर्तीको ‘आउट पास’ लिएका छैनन् ।

आममाफी घोषणाको पौने तीन महिना अवधिमा करिब ३५ हजार पुरुष कामदारले दूतावासबाट ‘आउट पास’ लिइसकेका छन् । तर यही अवधिमा स्वदेश र्फकन चाहने महिला कामदारको यो संख्या अत्यन्तै न्यून भएको आज कान्तिपुरले खबर छापेको छ ।

भारतीय बाटो हुँदै साउदी पुगेको र र्फकनलाई समस्या परेको खबर आइरहने गरे पनि आममाफीमा भने उनीहरुले चासो दिएका छैनन् । आप्रवासी कामदारका लागि कार्यरत संस्थाहरुले महिला कामदारसम्म आममाफीको सूचना नपुगेकाले उनीहरुले अवसर लिन नसकेको बताएका छन् ।

‘हाउसमेडलाई यो खबर थाहै हुँदैन्,’ हाल नेपाल आएका एनआरएनए साउदीका सल्लाहकार इन्जिनियर धरम केसीले भने, ‘मुख्य कुरा सूचनाकै अभाव हो, अनि आममाफीको प्रक्रियाबारे थाहा नहुनु पनि हो ।’

साउदीमा नेपाली महिला कामदार मुख्यतः भारत हुँदै पुग्ने गरेको बताइन्छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।