साउन २० । जिल्लाको उत्तरपूर्वी गाविसकी एक महिलालाई नवजात शिशु हत्या अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

आफैंले जन्माएको शिशुको हत्या अभियोगमा अर्खा–८ की २५ वर्षीया तेजमणि पुनलाई प्रहरीले पक्राउ गरेको हो । गाउँकै एक युवकसँगको अवैध सम्बन्धबाट साउन १२ गते जन्मिएको शिशुको हत्या गरेको भन्दै अभियुक्तका ससुरा जयबहादुर पुनले जिल्ला प्रहरीमा आइतबार जाहेरी दिएका थिए ।

कामका लागि पति भारत गएका बेला छिमेकीका परपुरुषसँगको सम्बन्धबाट उक्त सन्तान जन्मेको स्थानीयवासीले बताएका छन् । हत्या अभियोग लागेकी पुनले सुत्केरी भएपनि कसैलाई पनि थाहै नदिई घाँटी थिचेर नवजात शिशुको हत्या गरी गोठ नजिकै बारीमा खाल्डो खनेर पुरेको सूचना स्थानीयवासीले प्रहरीलाई दिएका थिए । यसबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक ऐनबहादुर मल्लले बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।