साउन २० । आँखामा सामान्य कमजोरी आएपछि उपचार गर्न भनेर गएका बिरामीहरु डाक्टरको उपचारबाट थला परेका छन् ।

विराटनगरस्थित रामलाल गोल्छा आखाँ अस्पतालले असार ८ गते मोरङको सुन्दरपुरमा निशुल्क आँखा शिविर सञ्चालन गरेको थियो ।

गाउँमा आँखाको निःशुल्क शिविर आएको माइकिङ्बाट सुनेको मोरङ सुन्दरपुरका ८३ बर्षीय भवानी दाहाललाई बुढेसकालमा मोतिविन्दुले धमेलीएको आखाँमा दृष्टि फेरीने आशा पलायो।
कान्छा छोरालाई लिएर हत्तपत्त शिविरस्थल पुगे र आखाँ जँचाए। डाक्टरले शिविर आयोजक विराटनगरस्थित रामलाल गोल्छा आखाँ अस्पताल शल्यक्रिया गराउँन बोलाए।

शल्यक्रियापछि आखाँ उजेलिएनन् , उल्टै ‘इन्फेक्सन’ भएर काम नलाग्ने भयो । डाक्टरले काम लाग्दैन भनेर फेरि शल्यक्रिया गरे र आखाँको डल्लै झिकेर फालिदिए।

आँखा झिकेर फालेपछि एकै चोटी धेरै समस्याले घेरिएका भवानीले शुक्रबार पण्डित, नाता, कुटुम्ब र आफन्त बोलाएर वैतर्णी गराए। वैतर्णी भनेको नबाँच्ने सम्भावना देखिएपछि गरिने परम्परागत संस्कार हो । आँखा देखिन्छ भनेर गरिएको उपचारले भवानीलाई त्यहाँसम्म पुर्याएको हो ।

शल्यक्रियापछि संक्रमण बढेकाले भवानीको समस्या अझै बल्झिएको छ। अवस्था गम्भीर भएपछि अस्पतालले समेतल डिस्चार्ज गरिसकेको उनका छोरा गोपाल दाहालले बताए।

मोरङ सुन्दरपुर–८ की टीकादेवी पौडेल र दुलारी–३ का मुगालाल चौधरीले पनि शल्यक्रियापछि एउटा आँखा गुमाएका छन् ।

शिविरमा ४८ जनालाई मोतीबिन्दुको शल्यक्रिया गरेका थिए । त्यसमध्ये १३ जनालाई शल्यक्रियापछि झन समस्या थपिएको छ । बिरामी मध्यै तीन जनाको त आँखा नै निकाल्नु परेको छ ।

उपचार गराउन जाँदा बिरामीहरु यसरी थला परीसकेको, कति आँखा नै निकाल्नु परेको तथा केहीको बैतर्णी समेत गर्नु पर्ने अवस्था आएको भएपनि यो विषयमा कसैले पनि अनुसन्धान तथा काम कारबाही गरेका छैनन् ।

यस विषयमा आजका नागरिक दैनिक, कान्तिपुर लगायत पत्रिकाले खबर छापेका छन् । यस्तै यो विषयलाई हिमालयको प्राइम न्यूजमा समेत समेटिएको छ । जुन यस्तो छ भिडियोमा हेर्नुहोस्:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।