साउन १८ । सिरहाको सदरमुकामस्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा गएराति बम विस्फोट भएको छ । विस्फोटबाट कार्यालयमा सामान्य क्षति पुगेको छ ।

बिहीबार राति साढे ८ बजे गराइएको विस्फोटबाट कार्यालयमा रहेका सामान जलेको प्रत्यक्षदर्शीले बताएका छन् । काँग्रेस पार्टी कार्यालयभन्दा करिब ३ सय मिटर पूर्व-उत्तरमा जिल्ला प्रहरी कार्यालय रहेको छ भने १ सय ५० मिटर उत्तर हेमनारायण चौकमा प्रहरीको चौबिस घन्टे ड्यूटी रहेको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका पूर्वी सैन्य कमान्डर जय मुक्तिले सञ्चारकर्मीलाई फोन गरेर बम विस्फोटनको जिम्मा लिएका छन् ।

केही मधेसवादी दललगायत पहाडी सत्तावादले मधेसमा आफ्नो अस्तित्व जमाएर मधेस र मधेसी जनताको शोषण गरिरहेकाले काँग्रेस पार्टी कार्यालयमा बम विस्फोट गराएको मुक्तिले टेलिफोनमा बताए ।

यता, दुई दिन अगाडि मात्र कार्यभार सम्हालेका सिरहाका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले भने पार्टी कार्यालयमा बम विस्फोट नभएको दाबी गर्दै बम विस्फोटको हल्ला मात्र फैलाइएको जिकिर गरे । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।