साउन १६ । नेपालबाट इन्टरनेट चलाउँदा गत वर्ष ३ अर्ब ७६ करोड रुपैयाँ बाहिरिएको छ ।

विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीले ब्यान्डविथ बापत यो शुल्क विदेशी कम्पनीलाई बुझाएका हुन् ।

ब्यान्डविथ भनेको सर्भर र इन्टरनेट चल्ने उपकरण जोड्ने माध्यम हो ।

विदेशबाट सञ्चालन भएका वेबसाइट नेपालमा खोलेपछि ब्यान्डविथको शुल्क विदेश पठाउनुपर्छ । सामाजिक सञ्जाल, इमेल, भिडियो उपलब्ध गराउने लगायतका अधिकांश वेबसाइट विदेशी छन् । ६० प्रतिशतभन्दा बढी वेबसाइटका सामग्री विदेशी प्रयोग हुन्छ।

नेपालले स्याटलाइट र अप्टिकल फाइबरको माध्यमबाट ब्यान्डविथ प्रयोग गर्दै आएको छ । धेरैजसो इन्टरनेटका सामग्री अप्टिकल फाइबरबाट भारत हुँदै नेपाल प्रवेश गर्छन् । भारतका एयरटेल, टाटालगायत कम्पनीलाई नेपालका सेवा प्रदायक कम्पनीले शुल्क बुझाउँने गरेको आजको कान्तिपुरमा खबर छ ।

इन्टरनेट सेवामा ठूलो हिस्सा राख्ने नेपाल टेलिकम, एनसेलसहित इन्टरनेट सेवा प्रदायकले यो रकम बुझाएका छन् ।

आर्थिक वर्ष ०६८६९ मा नेपालबाट २ अर्ब ५८ करोड रुपैयाँ ब्यान्डविथ शुल्क विदेश गएको थियो । अन्तर्राष्ट्रिय बजारमा शुल्क घट्दै गए पनि त्यसको एक वर्षपछि झन्डै थप एक अर्ब विदेसिएको । इन्टरनेट प्रयोगकर्तासँगै माग बढेपछि शुल्क बढेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।