साउन १४ । सरकारी निकायको लापरबाहीका कारण सिन्धुलीको भीमेश्वर– २ निवासी ७३ वर्षीय शम्भूप्रसाद देवकोटा करोडपतिबाट सुकुम्बासी मात्र भएका छैनन् । नेपाली नागरिकता लिनबाट समेत वञ्चित बनेका छन् ।

विसं २०२५ मा गाउँ छाडेर भारत पलायन भएका देवकोटा २०६९ सालको अन्तमा घर फर्कदा मृत्यु भएको प्रमाणित गरी आफ्नो नाममा रहेको सबै जग्गाजमिन गाउँका केही व्यक्तिको अगुवाइमा बिक्री वितरण गरिएपछि अहिले सुकुम्बासी भएर गाउँमा भौतारिन बाध्य भएको देवकोटाले दुःखेसो पोखे ।

विसं २०२९ मा आएको नापीले आफूले भोग चलन गर्दै आएको जग्गा मेरो नाममा नापी गरिदिएपछि ०३६ सालमा मेरो मृत्यु भएको प्रमाणित गरी जग्गाजमिन बिक्री वितरण गरेको देखिएको जानकारी दिँदै देवकोटाले भने– “आफ्नो नाममा सात रोपनी जग्गासहित दुई हल लाग्ने बारीखेत थियो । निर्माणाधीन बिपी राजमार्ग सोही जग्गाबाट गएकाले जग्गाको मूल्य अहिले रु १२ करोडभन्दा माथिको हुन्छ । तर म अहिले सुकुम्बासी झै आफन्तको घरघर चाहारेर बस्न बाध्य भएको छु ।”

एक छोरा र दुई छोरीसमेत रहेका देवकोटाकी श्रीमती अन्यत्र बसाइँ सरेकाले हाल नागरिकतासमेत लिन नसकेको देवकोटाले दुःखेसो पोख्दै भने– “मेरो नामबाटै छोराछोरी र श्रीमतीले नागरिकता लिएका छन् । तर जिल्ला प्रशासन कार्यालयमा आफ्नो नागरिकता बनाउन जाँदा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले दुई सर्तमा मात्र नागरिकता दिन सक्ने बताए ।”

उनका अनुसार– “नागरिकता दिएपछि मुद्दा मामलामा नजाने र नागरिकता लिँदा सनाखतमा बस्न श्रीमती ल्याउनुपर्ने दुईवटा शर्त राखेका छन् । तर श्रीमतीलाई समेत केही व्यक्तिले अवरोध गरेकाले सनाखतमा बसेर नागरिकता दिलाउन श्रीमतीले अस्वीकार गरेकी छन् ।

सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय सिन्धुलीले लामो समय बेपत्ता रहेको व्यक्ति आउने बित्तिकै नागरिकता दिन नमिल्ले जनाउँदै सो व्यक्ति वास्तविक व्यक्ति हो, होइन अनुसन्धानपछि मात्र नागरिकता दिनुपर्ने अवस्था रहेकाले केही ढिलाइ भएको हुनसक्ने र आवश्यक प्रक्रिया पूरा भएपछि नागरिकता प्रदान गरिने जनाएको छ । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।