बर्डफ्लु लागेर कुखुरा मरिरहेको भक्तपुरको फार्मका कुखुरा सुटुक्कै उपत्यका बाहिर लैजाँदै गरेको अवस्थामा १४ साउन विहान ललितपुरबाट बरामद गरिएको छ ।

भक्तपुर कटुञ्जे–२ मा पालिएको गङ्गाजमुना कुखुरा फार्मले ४५० वटा प्यारेन्ट स्टक कुखुरा बोलेरो गाडीमा हालेर भैरहवा लैजाँदै गर्दा जिल्ला पशुसेवा कार्यालय भक्तपुरले दिएको जानकारीका आधारमा ललितपुरबाट नियन्त्रणमा लिइएको हो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख खगेन्द्रप्रसाद भट्टले भक्तपुरबाट बिक्री गर्नका लागि वीरगन्जतर्फ कुखुरा लगिँदैछ भन्ने जानकारी पाएपछि ललितपुर पशुसेवा कार्यालयलाई खबर गरिदिएको र ललितपुरको सुन्दरीघाटमा उक्त कुखुरा नियन्त्रणमा लिएको बताए ।
नियन्त्रणमा लिएको कुखुरालाई आजै सुन्दरीघाट मल पोखरी नजिकै खाल्डो खनेर पुर्न लागिएको पशुसेवा कार्यालय ललितपुरका प्रमुख डा मुगलप्रसाद शाहले जानकारी दिए ।
भक्तपुरको सिपाडोल–९ र नंखेल–२ मा रहेको पञ्चराम किसी र बलराम किसीको फार्ममा बर्डफ्लु भेटिएपछि एक सातामा दुई हजारभन्दा बढी कुखुरा मरिसकेको स्थानीयले बताएका छन् । मरेका कुखुरा प्रशासन र पशु कार्यालयलाई समेत जानकारी नै नदिई गत शुक्रबार राति लगेर पुरिए पनि त्यसको दुर्गन्ध फैलिएपछि स्थानीयले विरोध गरेका थिए ।

किसी दाजुभाइले लापरबाही रुपमा बर्डफ्लु रोग लागेर कुखुरा मरिरहेको फार्मबाट राति नै भक्तपुर र काठमाडौँका मासु पसल एवम् कोल्ड स्टोरहरुमा बिक्री गर्ने गरेको स्थानीयले बताएका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।