साउन १४ । सरकारको तलब लिने मालपोतमा बस्ने कर्मचारीहरुको काम के भनेर सोध्यो भने सबैले भन्ने गर्छन सेवाग्राहीको काम कार्यहरु सम्पन्न गर्नु ।
किन होइन ?
हो नि । होइन र ?
अ हँ । होइन । किनभने काठमाडौँको चाबहिलस्थित मालपोत कार्यालयका कर्मचारीहरुको चर्चिकला हेर्ने हो भने यसको ठिक विपरित छ ।
रुपन्देही आनन्दवन घर भई हाल अमेरिकामा रहेका रिसव धितालको नाममा रहेको काठमाडौँ बुढानिलकण्ठ वडा नम्बर ६ मा अवस्थित किता नम्बर ४ सय आठ क्षेत्रफल सेख २.८.०.० (२ रोपनी ८ आना) जग्गा अमेरिकामा रहेका धितालको नक्कली नागरिकता, नक्कली पुर्जा र मालपोतमा रहने रेकर्डमा पनि नक्कली नै बनाएर गायब बनाइएको छ । जसमा सिंगो मालपोतको संलग्नता रहेको पुष्टि समेत भईसकेको छ ।
पीडित भनिने जाहेरवाला राजन श्रेष्ठले प्रहरी समक्ष निवेदन दिएपछि मालपोतका प्रमुखसहित १२ जनालाई पक्राउ गरेको थियो ।
सोही मुद्धामा अदालतले फैसला गर्दै ५ जनालाई पुर्पक्षका लागि थुनामा राखेको छ । त्यस्तै एक जनालाई २५ लाख, तीन जनालाई जनही १०/१० लाख र अन्य तीन जनालाई जनही ५ लाख धरौटी माग गरेको छ ।
झापा सनिसचरे गाविस घर भई काठमाडौँको गंगबुमा बसोबास गर्दै आएका नक्कली जग्गाधनी सुमन प्रधानलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । प्रधानले नक्कली नागरिकता, नक्कली पुर्जा र मालपोतमा रहने जग्गाको रेकर्ड समेत नक्कली बनाएर बुढानिलकण्डका राजन श्रेष्ठलाई ९७ लाखमा जग्गा बिक्री गरेका थिए । 
यस्तै घटनामा संलग्न सितापाइलाका लोक बहादुर तामाङ, शिवराम खड्का, कान्छा थापा र देव बहादुर बस्नेत ( चाबहिल मालपोतका पिएन) लाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
यसैगरी, चाबहिल मालपोतका नासु मोहनजंग डागर, प्राविधिक सहायक सुरेश कार्की (जसले ३० हजार घुस लिएर गाविसको तर्फबाट चिठी बनाएको बताइन्छ) मालपोतका नासु श्रीवंश मैनाली (जसले ४ लाख घुस लिए काम गरेको बताइन्छ) लाई जही १०/१० लाख धरौटी माग गरेको छ ।
त्यसैगरी, रत्नबहादुर खड्कालाई २५ लाख धरौटी तोकेको छ । खड्का पुराना जग्गा धनी हुन् । उनले रिसवको आमालाई जग्गा बेचेको र अहिले पनि पुरानो पैसा छ भन्दै १० लाख लिएका थिए । उनलाई  २५ लाख धरौटी माग गरिएको छ । 
यस्तै, मालपोतका प्रमुख राजराजेश्वरी त्रिवेदी, लमजुङ घर भएका मालपोतका अधिकृत दिव्यराज घिमिरे र नासु तिर्थलाल घिसिङलाई प्रतिव्यक्ति ५/५ लाख धरौटी माग गरेको छ ।
उक्त जग्गा कारोबार गर्नेमा अधिवक्ता हरिनारायण श्रेष्ठले सुरु देखि नै सघाएका थिए । तर उनी अहिले भने सम्पर्कमा नभएको पीडित पक्षले बताएको छ । यता, अदालतसँग दायर गरिएको अभियोग पत्रमा भने अधिवक्ता श्रेष्ठलाई फरार भनेर उल्लेख गरिएको छ ।
मालपोतको मिलेमतोमा अर्काको जग्गा पचाउनका लागि नागरिकता पनि किर्ते गर्ने, लालपुर्जा पनि किर्ते गर्ने र मालपोतको रेकर्ड समेत किर्ते गरी सर्वसाधरणको सम्पत्ति हिनामिना भएको यस घटनाले सरकारी कार्यालयसँग सर्वसाधरणको विश्वास घटेर जाने निश्चित छ ।
जिल्ला न्यायाधिवक्ता रमेश शर्मा पौडलका साथमा वादीका पक्षमा अधिवक्ता कपिलचन्द्र पोखरेल, केदारप्रसाद गुँरासाई, किशोर विष्ट समेतले बहस गरेका थिए भने प्रतिवादीका तर्फबाट बरिष्ठ अधिवक्ता गोविन्द शर्मा पौडेल र योगेन्द्र बहादुर अधिकारी समेतले बहस गरेको उक्त मुद्धाको फैसला न्यायाधिस जगत श्रेष्ठको इजलासमा भएको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।