फुल्ने हजारौँ फूल रंग राम्रो
    बेली, चमेली र गुराँस राम्रो
   चाँप, चमेली र गुराँस राम्रो
    आहा कति सुन्दर देश हाम्रो ।

प्रस्तुत माथिका सुन्दर पंक्तिहरु कुनै गीतका भाकाहरु भने होइनन् । यी पंक्तिहरु देव कुमारी लुइटेलको ‘स्वाभिमान कविता संग्रह’बाट झिकिएको हो ।

स्रष्टाहरुका लागि कृति सार्वजनिक हुनु गर्भबाट सन्तान जन्मनु जस्तै हो भनिन्छ । त्यस्तै पाँचथर सुभांग-९ मा जन्मेर अहिले काठमाडौँको धुले मैलोमा संघर्षरत देव कुमारीको पनि स्वाभिमान कविता संग्रह सार्वजनिक भएको छ ।

त्यसो त यसअघि नै देवकुमारीका नेपाली गजलमा नारी हस्ताक्षर, नेपाली शैक्षिक सोपान पक्ष कविता गायन कृतिहरु निस्किसकेका छन् ।

यो तेस्रो कृति स्वाभिमान कविता संग्रहको भने शनिबार राजधानीमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ  ।

एमाले नेतृ विद्या भण्डारीको प्रमुख आतिथ्यमा भएको विमोचन कार्यक्रममा नारी विशेष कविता गोष्ठी समेत गरिएको थियो । जहाँ दुई दर्जनको संख्यामा नारीहरुले कविता वाचन गरेका थिए ।

विमोचन तथा कविता गोष्ठीमा कविता वाचन गर्दै एक बालिका

विमोचन कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि तथा एमाले नेतृ विद्यादेवी भण्डारीले पनि साहित्यको खुलेरै प्रशंसा गरेकी थिइन् । उनले साहित्य वास्तवमा समाजको दर्पण भएको बताएकी थिइन् ।

त्यति मात्रै होइन उनले भाषण सुन्दासुन्दा वाक्क भएकाहरुलाई साहित्य (कथा, कविता लगायत) को माध्यमबाट सचेतना तथा शिक्षा दिन सकिने भन्दै साहित्यसाहित्यकार तथा प्रेमीहरुलाई हौसाएकी थिइन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।