साउन १३ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेकपा–माओवादीले रत्नपार्कमा नमुना मतपेटिकामा बन्चरो हानेर सहिदको अपमान गरेको बताएका छन् ।

शनिबार काभ्रेको बनेपामा वाइसिएल काभ्रेको तेस्रो जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष दाहालले माओवादी भन्नेहरूले संविधानसभाको विरोध गर्दै राजावादीसँग सहकार्य हुन्छ भन्नु सहिदको उपहास हो भने ।

परिवर्तनको पक्षमा लाग्ने साथीहरूले संविधानसभाको निर्वाचनलाई गलत भन्दा आफूलाई दुःख लागेको उनले बताए ।

अहिले वैद्य समूहलाई रामराम मात्र भन्न सकिने तर काँधै भने थाम्न नसकिने अध्यक्ष दाहालको भनाइ थियो ।

वैद्य समूहले निर्वाचनको चर्काे विरोध गर्दैआए पनि विकल्प खुला राखेको उनले बताए ।

वैद्य समूहले भने जस्तै उच्चस्तरीय समितिको पुनःगठन, अघिल्लो निर्वाचनमा जस्तै समानुपातिक सङ्ख्या र सरकार विस्तार हुनसक्ने उनले बताए ।

सम्मेलनमा वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष गणेश मान पुन, एमाओवादी महिला नेत्री हिसिला यमिलगायतले वाइसिएलले खेल्नुपर्ने भूमिकाबारे बोलेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।