साउन ११ । साताको अन्तिम दिन छापावाल सुनको मूल्य बिहीबारको तुलनामा आज प्रतितोला रु ५०० ले वृद्धि भई रु ५२ हजार ३०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अघिल्लो दिन पहेँलो धातुको मूल्य रु ५१ हजार ८०० निर्धारण गरी आज कारोबार भएको जनाएको छ ।
महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धिका कारण सुनको मूल्य वृद्धि भएको हो । महासङ्घका महासचिव माणिकरत्न शाक्यले अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिनका तुलनामा प्रतिऔँस १४ अमेरिकी डलरले सुनको मूल्य वृद्धि भएको र त्यसैका आधारमा नेपालमा पनि प्रतितोला रु ५०० ले वृद्धि भएको जानकारी दिए ।
अघिल्लो दिन प्रतिऔँस एक हजार ३२३ अमेरिकी डलर रहेकामा आज प्रतिऔँस एक हजार ३३७ अमेरिकी डलर कायम भएको छ । नेपाली बजारमा सुनको मूल्य पछिल्लो समय एक सातादेखि निरन्तर मूल्य वृद्धि हुँदै गएकामा बिहीबार प्रतितोला रु एक हजारले कमी भएपछि उपभोक्ताले राहतको महसुस गरेका थिए ।
महासङ्घले तेजाबी सुनको मूल्य आज प्रतितोला रु ५२ हजार ५० निर्धारण गरी कारोबार भएको जनाएको छ । सोको मूल्य अघिल्लो दिन प्रतितोला रु ५१ हजार ५५० मा कारोबार भएको थियो । त्यसैगरी असली चाँदीको मूल्य आज प्रतितोला रु ८३० कायम भएको छ । सोको मूल्य अघिल्लो दिन रु ८२५ निर्धारण भई कारोबार भएको थियो ।