साउन ८ । चितवनको पद्मपुरमा महिलाले सञ्चालन गरेको साना किसान कृषि सहकारीको विषयमा स्थानीयबीच झडप भएको भएको छ ।
झडप नियन्त्रणमा लिन गएका दुई प्रहरीसहित तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा प्रहरी सहायक निरीक्षक रत्न विक, हबल्दार रामलाल भगत र स्थानीय दिपा पुरी रहेका छन् ।
घाइतेको चितवनको भरतपुरमा उपचार भइरहेको छ । झडपका क्रममा १२ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
साना किसान सहकारीले हालै खरिद गरेको जग्गाको विषयमा शेयर सदस्यहरू दुई पक्षमा विभाजित भएपछि झडप सिर्जना भएको स्थानीयले बताएका छन् ।
असन्तुष्ट पक्षले आज सहकारीमा ताला लगाउने क्रममा झडप भएको बताइएको छ । झडपका क्रममा सहकारीको भवनमा समेत क्षति पुगेको र अहिले सो क्षेत्रमा व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ ।
दुई हप्ताअघि असन्तुष्ट पक्षले लगाएको ताला हिजो संस्थापन पक्षले फोरेको थियो । ताला फोरिएपछि असन्तुष्ट पक्षहरू आज पुनः ताला लगाउन जाने क्रममा झडप भएको प्रहरीले जनाएको छ ।
स्थानीय विष्णु सिंखडाले असन्तुष्टहरूले बाहिरी व्यक्तिलाई संलग्न गराएर झडपको स्थिति सिर्जना गरेको आरोप लगाए ।
असन्तुष्ट पक्षले भने जग्गा खरिदको विषयमा शेयर सदस्यलाई जानकारी नै नगराई एकलौटी गरेकाले यो अवस्था आएको जनाएको छ । समस्या समाधानका लागि अहिले चितवनमा बैठकको तयारी गरिएको प्रहरीले जनाएको छ । रासस