साउन ८ । राष्ट्रपति डा. रामवरण यादवसँग नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज राष्ट्रपति कार्यालय, शीतल निवासमा भेटी आफ्नो भारत भ्रमणबारेमा जानकारी गराएका छन् ।

भेटमा राष्ट्रपति डा यादवले निर्वाचनमा सबै राजनीतिक दललाई भाग लिने वातावरण बनाउन र निर्वाचनको प्रतिकूल कार्य हुन नदिन ठूला दलले पहल गर्नुपर्ने सुझाव दिएको नेता नेपालले सञ्चारकर्मीलाई बताए ।

नेता नेपालले बुधबारदेखि भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहको निमन्त्रणमा भारतको भ्रमण गर्दै छन् ।

पाँचदिने सो भ्रमणका क्रममा पूर्वप्रधानमन्त्री नेपालले भारतका केही वरिष्ठ नेतासँग भेट गर्ने तथा नालन्दा विश्वविद्यालयको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

उनका साथमा एमालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्रमामिलाविज्ञ राजन भट्टराई पनि रहने बताइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।