साउन ८ । राहत बाढ्नकै लागि भनेर पूर्व राजा ज्ञानेन्द्र शाह बाढी पीडित क्षेत्रमा पुगेको बेला निर्वाचन आयोगले उनलाई राहत वितरण नगर्न निर्देशन दिएको छ ।
निर्वाचन आयोगले सुदुरपश्चिमका बाढीपीडितलाई राहत वितरण नगर्न शाह र हिमानी ट्रस्टका अधिकारीलाई निर्देशन दिएको हो । तर पूर्व निर्वाचन आयोगका पूर्व पदाधिकारीहरुले भने मानवीय सेवामा रोक लगाउने निर्देशन उचित नभएको भन्दै आपत्ति जनाएका छन् ।
मानवीय सेवाको काममा पनि कुनै संघसंस्था वा व्यक्तिले सीधै राहत वितरण गर्न पाउँदैनन्,’ प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले सोमबार भने, ‘निर्वाचन आचारसंहिता लागू भइसकेकाले अब सरकारी संयन्त्रमार्फत रातह वितरण गर्नुपर्छ ।’अन्नपूर्ण पोष्टमा खबर छापिएको छ ।
आयोगले सोमबारदेखि निर्वाचन आचारसंहिता लागू भइसकेकाले कुनै पनि संघसंस्था वा व्यक्तिले राहत वितरण गर्न नपाइने जनाएको छ । सुदूरपश्चिमका बाढीपीडितलाई हिमानी ट्रस्टमार्फत राहत वितरण गर्न पूर्वराजा ज्ञानेन्द्र पत्नी कोमल र बुहारी हिमानीसहित सुदूरपश्चिम पुगेका छन् ।
आयोगद्धारा आयोजित पत्रकार सम्मेलनमा उप्रेतीले निर्वाचनलाई असर पर्ने गरी व्यक्ति, संस्था वा दलले कुनै पनि गतिविधि गर्न नहुने बताए पनि पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले भने मानवीय संवेदनासँग जोडिने विषयमा आचारसंहिता लागू गर्न नहुने जनाए ।