साउन ७ । उच्चस्तरिय राजनीतिक समिति र मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा रहेको संघिय लोकतान्त्रिक मोर्चाबीचका वार्ता विना निष्कर्ष टुंगिएको छ ।
समितिको कार्यालय नयाँबानेश्वरमा भएको वार्ता कुनै निष्कर्षमा पुग्न नसकेको मोर्चाले जनाएको छ । वार्तामा मोर्चाको तर्फबाट यादवले खिलराज रेग्मी नेतृत्वको सरकार निर्माणका बेलामा राष्ट्रपतिद्धारा जारी भएको २५ बुँदे अध्यादेशमा भएका त्रुटी सच्याउन माग गरेका थिए ।
तर उच्चस्तरिय समितिका तर्फबाट नेताहरुले सो बिषयमा गृहकार्य नभएको बताएपछि वार्ता सकिएको थियो । छलफल पछि मोर्चा घटक ताम्सालिङ राज्य परिषदका सिताराम तामाङले सबै बिषयमा छलफल भएपनि कुनै निष्कर्षमा नपुगीएको जानकारी दिए ।
त्यस्तै उच्चस्तरिय राजनीतिक समितिका सदस्यहरुले निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक सिट संख्या लगायतका विषयमा छलफल भएपनि सहमति नभएको जानकारी दिएका छन् । उनीहरुले निर्वाचनलाई असर पर्ने बाहेकका माग सम्बोधन गर्न समिति सकारात्मक भएको जनाएका छन् ।
वार्तामा उपेन्द्र यादवको मोर्चाका तर्फबाट मोर्चा संलग्न दलका नेताहरु र उच्चस्तरिय राजनीति समितिका तर्फ एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काग्रेसका सभापति सुशील कोइराल, उपसभापति रामचन्द्र पौडेल तथा एमाले अध्यक्ष झलनाथ खनाल, माधव नेपाल र मधेशी मोर्चाका नेताहरुको सहभागिता रहेको थियो ।