इजरायली सरकार, साना किसान विकास बैंक र नेपाल कृषि सहकारी सङ्घले संयुक्त रुपमा छनोट गरी उनीहरुलाई इजरायल पठाउन लागिएको हो ।
कृषिसम्बन्धी उच्च प्रविधि र ज्ञान हासिल गर्न १० महिने तालिमका लागि उनीहरु आगामी सेप्टेम्बर अन्तिममा त्यसतर्फ जाने तय भएको छ ।
यससम्बन्धी छनोट कार्यक्रम आज सम्पन्न भएको छ । मोरङ, सुनसरी, झापा, इलाम, मकवानपुर, धादिङ, चितवन र नवलपरासीका १२ कक्षा उत्तीर्ण, २२ देखि ३० वर्ष उमेर समूहका एवम् साना किसान परिवारसँग आबद्ध युवा छन् ।
इजरायलमा एकदिन अध्ययन तथा छ दिन काम गर्न सहुलीयत पाउनुका साथै उनीहरुले मासिक करिब एक हजार दुई सय अमेरिकी डलरभन्दा बढी नै आम्दानी गर्नसक्ने बताइएको छ ।
इजरायलमा आधुनिक प्रविधिको प्रयोगबाट हुने कृषि उत्पादन आकर्षक एवम् स्वादिलो हुने भएकाले विश्वभरका बजारमा निर्यात भइरहेको छ ।
यससम्बन्धी जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि इजरायली राजदूत खनान गोडेरले इजरायलमा तीन प्रतिशत जनताले उत्पादन गरेका कृषिउपज ९७ प्रतिशत जनताले उपभोग गर्नुकासाथै विश्वमा निर्यातसमेत हुने गरेको बताए ।
उनले दक्षिण एसियामा सर्वप्रथम नेपालले सन् १९६० मा इजरायललाई स्वतन्त्र राष्ट्रको रुपमा मान्यता दिएको उल्लेख गर्दै नेपालको कृषि विकासमा इजरायली कृषि प्रविधि प्रयोग गरिएमा यहाँ सात सय प्रतिशत ज्यादा कृषि उत्पादन हुने समेत ठोकुवा गरे ।
राजदूत गोडेरले इजरायली कृषि प्रविधिको प्रयोगले भारत, भियतनाम र दक्षिणी अमेरिकी मुलुक कृषिमा आत्मनिर्भर भई उत्पादन निर्यात गर्न समेत सक्षम भएको जानकारी दिए ।
सो अवसरमा इजरायलको केनेर कलेजका प्रतिनिधि हेरेन डेबिट नेपाली विद्यार्थीलाई कृषिसम्बन्धी प्रशिक्षण दिन पाउनु गर्वको विषय भएको बताउँदै पाएको ज्ञान कृषिमा प्रयोग गर्नाले नेपाली किसानको जीवनस्तर माथि उठने विश्वास व्यक्त गरे ।
साना किसान बंैकका कार्यकारी अधिकृत जलनकुमार शर्माले पराम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्न नेपाली युवाहरुलाई तालिमका लागि इजरायल पठाउन लागेको जानकारी दिए ।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेमबहादुर पाठकले उन्नत कृषि उत्पादन, बजार व्यवस्थापन र व्यावसायिक किसान बनाउनका लागि युवालाई तालिममा पठाउन लागेको बताए । रासस