साउन ७ । विषालु च्याउ पकाएर खाँदा सिकिस्त बिरामी भएका एकै परिवारका पाँच जनाको लहानस्थित मुरारका अस्पतालमा गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

लहान नजिकै रहेको पिप्रा पश्चिम गाविस–३ मा च्याउ खाँदा सिकिस्त बिरामी भएका एकै परिवारका पाँच जनालाई आज बिहान अस्पताल भर्ना गरी उपचार थालिएको हो ।

च्याउ खाएर सिकिस्त बिरामी हुनेहरुमा हरि क्याप्छाकी र उनकी श्रीमती ज्ञानेन्द्री, छोरा केशव र छोरीहरु विपना र सपना रहेका छन् ।

राति च्याउ खाएर सुतेका क्याप्छाकी परिवारका सदस्यहरु सुरुमा रिङ्गटा लाग्यो भन्दै छाद्न थालेका थिए ।

रातभर स्थानीय स्तरमा औषधि उपचार गरिएपनि रगत छाद्न थालेपछि बिहान ५ बजेतिर एम्बुलेन्सबाट उनीहरुलाई अस्पताल ल्याई भर्ना गरिएको स्थानीय हिमाल मगरले जानकारी दिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मिश्रीलाल साहले गम्भीर अवस्थामा उपचार भइरहेका बिरामीको अवस्था मध्याह्नपछि मात्र केही भन्न सकिने बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।