साउन ६ । मौसममा हुने परिवर्तनसंगै मानिसको स्वास्थ्यमा पनि विभिन्न किसिमका नकारात्मक प्रभावहरु पर्ने गर्छ । त्यसमाथि पनि हाम्रो समाजमा वर्षायामलाई झाडापखाला मैत्री मान्ने प्रचलन सामान्य नै भइसकेको छ । तर वर्षायाम र गर्मी मौसममै मानिसको एक महत्वपूर्ण अंगको रुपमा रहेको आँखामा पनि उत्तिकै समस्या देखिने गर्छ ।

वर्षायामलाई आँखा सम्बन्धी समस्याका लागि अनुकुल मौसम पनि मानिन्छ । अझ विश्वकै प्रदृषित क्षेत्रमा पर्ने काठमाडौं उपत्यकामा यसको समस्या दिनानु दिन बढ्दै गएको छ ।

नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, काठमाडौंमा जाडोयाममा कम रहने विरामीको संख्या गर्मीयाममा बढ्ने गरेको तथ्याङ्ले देखाउछ । जाडोयाममा प्रतिदिन दुई सय पचासदेखि तीन सयको संख्यामा बिरामी आउने गरेकोमा गर्मीमा भने बिरामीको संख्या दोब्बर बढ्ने गरेको छ । गर्मी र वर्षायाममा ती अस्पतालमा चार सयदेखि छ सयसम्म पुग्ने अस्पतालका प्रमुख प्रसाशक रमेशप्रसाद अधिकारी बताउनुहुन्छ । आँखाजन्य समस्याका लागि गर्मी साथै वर्षायाम प्रतिकुल रहेको चिकित्सा पेशामा लामो समयको अनुभव बटुल्नु भएकी बालआँखा रोग विशेषज्ञ डाक्टर सबिना श्रेष्ठको भनाई छ ।

वसन्त ऋतुको आगमनसँगै नयाँ परागका कणहरुको कारणले एलर्जिक समस्या बढ्ने हुनाले यस समयमा आँखा चिलाउने, बिझाउने, त्यस्तै आँखा पाक्ने एलर्जिक कन्जङ्गटिभाइटिससँगै अन्य समस्या पनि देखा पर्ने गरेको छ ।

नेपालमा मोतिबिन्दु, चस्मा लगाएर समाधान हुने दृष्टिदोष, नशा सुक्ने लगायतका समस्या रहेकोमा हाल भोगविलासीपूर्ण जीवनशैली, अस्वस्थकर खानपान, अव्यवस्थित शहरीकरण, बढ्दै गएको औसत आयु आदिका कारणले उच्चरक्तचाप, मधुमेह लगायतका समस्या हुने र तिनले आँखाको समस्या निम्त्याउने तथा समयमै ध्यान नदिदा ती नै समस्याका कारण आँखाको दृष्टि नै गुम्न सक्ने बालआँखा रोग विशेषज्ञ डाक्टर श्रेष्ठ बताउँछन् ।

आँखाको समस्याबाट बच्नका लागि बिहानबेलुका सफा पानीले आँखा धुने, नियमित जाँच गराउने, सूर्यको परावैजनी किरणलाई रोक्नका लागि राम्रो गुणस्तरको चस्माको प्रयोग गर्नुपर्ने चिकित्सकहरुले सल्लाह दिने गरेका छन् । जीवनशैलीमा पनि केही परिवर्तन ल्याउनु पनि त्यति नै आवश्यक छ ।

हरेक मलम विशेष रोगको लागि प्रयोग गरिने हुनाले आँखामा पनि चिकित्सको सल्लाह लिएर मात्रै मलम प्रयोग गर्नु उपयोगी हुने चिकित्सकहरुको भनाई छ । यदि मलममा सावधानी नअपनाएमा दृष्टि नै गुम्न सक्ने खतरा पनि त्यति नै हुने गरेको छ । शरीरका हरेक अङ्ग महत्वपूर्ण भएपनि दृष्टिसँग प्रत्यक्ष सम्बन्ध राख्ने हाम्रो आँखाको हेरचाह गर्नु पनि त्यति नै जरुरी छ । तसर्थ यसको थोरै मात्र हेरचाह र यसप्रतिको सानो सावधानीले मात्र पनि ठूलो दुर्घटनाबाट बच्न सकिन्छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।