साउन ५ । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले अहिले राष्ट्रियता कमजोर भएका बेला केही गरी चुनावमा अलमल भयो भने नेपालको अस्तित्वमा प्रश्न चिन्ह लाग्ने भएकाले निर्वाचन अवश्यम्भावी भएको बताएका छन्
“राष्ट्रियता यति कमजोर छ, यस्तो बेला चुनाव अलमल भयो भने नेपालको अस्तित्वमै प्रश्नचिन्ह लाग्छ, त्यसर्थ पनि चुनाव अवश्यम्भावी छ, चुनाव अव कसैले रोक्न सक्दैन”–सभापति कोइरालाले भने ।
नेपाली काँग्रेस लमजुङ क्षेत्र नम्बर १ द्वारा राजधानीमा रहेका पार्टीका जिल्लावासी नेता कार्यकर्तालाई चुनावका लागि जिल्ला जाऔं भन्ने नारासाथ आयोजित सो कार्यक्रममा सभापति कोइरालाले चीन, भारत र युरोपेली युनियनलगायत अन्तर्राष्ट्रिय समुदायको पनि चुनावका लागि ठूलो दबाब रहेकाले चुनाव टार्न सकिँदैन भने ।
लामो समयदेखि स्थानीय निकायको चुनाव नहुँदा भ्रष्टाचार बढेको उल्लेख गर्दै उनले अहिले सरकारले पनि चुनावको तयारी गरेको छ र दल तथा जनता पनि चुनावका लागि उत्साही भएका छन् भने ।
नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद वडुले नेकपा–माओवादी पनि निर्वाचनमा आउने विश्वास व्यक्त गर्दै निर्वाचन शर्त नभएर विषय भएकाले निर्वाचनभन्दा बाहिर जाने विषयमा वार्ता हुन नसक्ने बताए ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।