साउन ५ । नेपाल राष्ट्र बैकका प्रथम् गभर्नर हिमालयशम्सेर जबराले मुलुकको एकीकरणमा महत्वपूर्ण योगदान पु¥याउने खस क्षेत्रीलाई घोचपेच गरेर नेपाललाई समृद्धितर्फ लैजान कठिनाइ हुने बताएका छन् ।
संयुक्त खस क्षेत्री एकीकरण समन्वय समितिको प्रथम ऐतिहासिक केन्द्रीय परिषद्को विस्तारित भेलालाई सम्बोधन गर्दै उनले विदेशीले बनाइदिएको मार्गचित्रमा अघि बढ्न खोज्दा मुलुकको एकीकरणका अभियन्तामाथि अन्याय पर्न सक्ने पक्षलाई राम्ररी ख्याल गर्न जरुरी रहेको उल्लेख गरे ।
राजनीतिक दलका उच्चतहबाटै समेत बेला बखतमा विश्वमै भिन्न पहिचान स्थापित गरिसकेको चन्द्र–सूर्य अङ्कित नेपालको राष्ट्रिय झन्डा नै फेर्नुपर्छ भन्ने खाले अभिव्यक्ति आउँदा आम नेपालीको मन कुँडिने गरेको उल्लेख गर्दे उनले इतिहासमा योगदान दिनेको सबैले कदर गर्न सिक्नुपर्ने सुझाव दिए ।
आयोजक संस्था संयुक्त खस क्षेत्री एकीकरण समन्वय समितिका संयोजक मानबहादुर थापाले सम्राज्यवादका विरुद्ध खुकुरी, खुँडा र तरवारका भरमा युद्ध गरेर नेपाललाई जोगाउन सफल इतिहासका वीर पुर्खाका सन्तानलाई नै आज आफ्नै मुलुकमा अन्य जातिको कोटी राखिनुले आफूहरूलाई मर्माहत तुल्याएको छ भने ।
नेपालभर १२५ थरीका खस क्षेत्रीहरू मुलुकको रक्षा र आफ्नो पहिचान स्थापित गराउन जस्तोसुकै बलिदान दिनसमेत तयार रहेको समितिका सहसंयोजक ताराबहादुर बस्नेतले बताए । मुलुकको पछिल्लो जनगणनाअनुसार क्षेत्रीहरूको जनसङ्ख्या १६.६ प्रतिशत रहेको सो अवसरमा जानकारी दिइयो ।