साउन ५ । अस्ती देखी परेको अबिरल वर्षासँगै कैलालीमा भएको डुबान र बाढीको समस्याबाट झन्डै दुई हजार घर परिवार प्रभावित भएका छन् ।
बाढी र डुबानको समस्याबाट धनगढी नगर क्षेत्रमा झन्डै एक हजार घर र जिल्लाका अन्य गाविसमा एक हजार घर परिवार प्रभावित भएको छ ।
धनगढी नगर क्षेत्रमा कैलाली खोला, शिवनगर खोला र बैया बहेडी खोलामा आएको बाढीपछि भएको डुबानबाट सरस्वतीनगर, शिवनगर, शान्तिनगर गाउँ, बेली, तारानगर, धनगढी नगरपालिका र मुक्त कमैया वस्तीका घरहरु प्रभावित भएपछि अधिकांश परिवार आफन्तको घरमा गएका छन ।
डुबानबाट घरभित्र पानी पसेपछि यी परिवार प्रभावित भएका हुन् । नगर क्षेत्रको खोला आसपासका पाँचछ घर बाढीले भत्काएको छ ।
प्रभावित परिवारलाई प्रहरीले उद्धार गरी तत्काल सुरक्षित स्थानमा सारेको छ । केही परिवार आज बिहानसम्म पानीको सतह घटेपछि आ–आफ्नो घरतर्फ लागेका प्रहरीले जनाएको छ ।
Comments