प्रचण्डको ‘सर्बहारा मुक्ति” का कुरा, सीताजीको हातमा चाँही सुनका चुरा ?

मेरा एकजना पत्रकार मित्र माधव धितालले मेरो फेसबुकको टाइमलाइनमा एउटा तस्विर ट्याग गरे । सो तस्बिर ‘सर्वहारा बर्ग’को नेतृत्व गर्ने पार्टीका अध्यक्ष भन्न रुचाउने प्रचण्ड पत्नी सीता दाहालको थियो । प्रचण्डसहित सबै शिर्ष नेताले सो तस्बिरमा हात उठाएका छन्, र प्रचण्डतर्फ अर्थात आफना श्रीमान तिर फर्किएकी पत्नि दाहालले पनि हात उठाएकी छिन । पदीय बिबाद हल गर्नका लागि आयोजना गरिएको बिस्तारित बैठकमा सहभागी हुन हिजो खन्ना गार्मेन्टमा पुगेकी सिता दाहाल र अरुको हात उठाईमा भने निकै फरकपन देखिएको छ, जो फरक पनि धितालजीले स्टाटसमा लेखेर देखाएका छन ।

उनले लेखेका छन, ‘लेनीनले सुनलाई ट्वाइलेटमा प्रयोग गर्नुपर्छ भन्ने सुन्या थे, सीता म्याडमले त लालसलाम गर्ने हात मै पो लगाउनु भएछ ।’ कुरो यत्ति मात्र हो तर सो तस्विर र स्टाटस यो आलेख तयार पारुन्जेलसम्म ३५ बढीले सेयर गरिसकेका छन् ।

सुन सबैले लगाउँछन तर सीताजीले लाउनु भएको सुन र अरुले लगाउने सुनमा भने धेरै फरक छ । र, त उनले तस्विरसहित स्टाटस लेखेका हुन् । जुन बेला हातमा सुन लगाएर सीताजी लालसलाम गरिरहेकी थिइन, त्यही क्षणमा उनकै अगाडी मञ्चमा बसेका प्रचण्ड भने ‘अझै पनि माओवादी सर्वहाराको अधिनायकत्व स्थापित गर्न प्रयासरत छ’ भन्दै भाषण ठोकिरहेका थिए ।

प्रचण्डले प्रधानमन्त्री हुदाँ होस वा बालाजुस्थित विस्तारित वैठकमा पेश गरेका सम्पत्ति बिबरणले के देखाउँछ भने उनको नीजि सम्पत्ति नै छैन् । जे थिए पार्टीमा नै दिइएको छ । र, अब जे दिन्छ पार्टीले नै दिन्छ, त्यसवाट नै उनको नीजि जीवन चल्छ, चलिरहेको छ । कुरा सुन्दा र उनले भन्दा, यो जति सुन्दर कुरा अरु हुदैन् किनकी नेतासँग नीजि सम्पत्ति नै छैन । नीजि सम्पत्ति नै नभएको ब्यक्ति महान दार्शनिक कार्ल माक्र्सको भनाईमा ‘सर्बहारा’ हो । प्रचण्डले सार्वजनिक गर्दै आएको सम्पत्ति बिबरण र माक्र्सको परिभाषाले नै उनलाई ‘सर्वहारा’ पुष्टी गरेको छ ।

पुख्र्यौली सम्पत्ति नभएका (नदेखाएका पनि हुन सक्छन है) प्रचण्डको घरमा कमाउने ब्यक्ति भनेको नै उनी एक्ला हुन् । त्यो पनि पुर्व प्रधानमन्त्रीको हैसियतमा पाउने भत्ता र सुबिधाबाहेक अरु केही आम्दानीको स्रोत प्रचण्डसँग छैन् । पत्नी सीताको कुनै रोजगार छैन, एक्लो छोरो प्रकाश पनि बेरोजगार छ । छोरीहरु बिहेवारी गरेर गइसकेका छन, उनीहरुको आ–आफनै नीजि जीवन छ, घर धन्दा चलाइरहेका छन् । यदी प्रचण्डले भनेको पत्याउने हो भने अब उनको आम्दानी भनेको कार्यकता पंक्तिले बुझाएको लेबी र चन्दाबाहेक अरु केही स्रोत छैन् । यो सम्म पनि सत्य नै छ, यो सम्म पनि प्रचण्ड सही र आदर्शवान नै छन् ।

तर पनि फेरी प्रश्न भने उठने ठाउँ प्रशष्त छन् । सीताजीले खन्ना गार्मेन्टमा लगाएको सुनको चुरा (कम्तिमा पनि त्यो चार पाँच तोला भन्दा बढी होला, जसको बजार मुल्य नै कम्तिमा अढाई लाख पर्छ) किन्न के कार्यकर्ताले आफनो खल्तीवाट रकम दिएका होलान त ? के सीताजीको रहर पुरा गराउन प्रचण्डले लेवीवाट सो रकम निकालेर छुट्टयाएका होलान त ? अथवा, सीताजीलाई सुनको बाला किन्न त्यो बाहेक अरु कुन ठाउँवाट रकम मिल्यो होला त ? त्यो प्रश्न भने अनुत्तरित छ । कमाउने कोही नभएको ठाउँमा सीताजीको सुनको बाला कसरी आयो ? त्यो प्रश्न स्वाभाविक रुपमा आम मानिसले उठाउँछन किनकी उनी सार्वजनिक मानिस हुन् ।

उनका श्रीमान प्रचण्डले भने अनुसार पुरै परिवार ‘सर्बहारा’ छ र ‘सर्वहारा बर्गको नेतृत्व गर्ने’ पनि उनी नै हुन् ? जब सर्वहारा वर्गको नेतृत्व गर्छु भन्ने मान्छेले गैर सर्वहारा चरित्र देखाउन मिल्छ कि मिल्दैन ? गैर सर्वहारा चरित्र देखाउनेले सर्बहारालाई मुक्ति मिलाउन सक्छ कि सक्दैन ? सुनको चुराले त्यो प्रश्न भने उठाएको छ ।

यो आलेखको उदेश्य सीताजीले सुन नै लाउनु पाउनु हुन्न भन्ने होइन् । स्वभाविक रुपमा हिन्दु संस्कारमा हुर्केको नारीले सुनका गहना प्रति चासो प्रकट गर्छन, सुनलाई महत्व दिन्छन नै । त्यही संस्कृति र संस्कारको प्रभाव हो, सीताजीको हातमा देखिएको सुनका चुरा । सीताजीका पनि ब्यक्तिगत रहर र इच्छा हुन्छन, रहेछन, जसलाई कुनै पनि सिद्धान्त र आदर्शले रोक्न सक्दैन, आखिर रोकेन पनि । उनले सुनका चुरा लगाउन पाउनु पर्छ, उनले आफ्नो भित्री इच्छालाई रोकेर देखाउनका लागि हात नाङ्गो बनाउनु पर्छ भन्नेमा म एकरति पनि समर्थन गर्दिन, न विश्वास नै ।

तर यो एउटा यस्तो प्रतिनिधि घटना हो, जसलाई सिंगो कम्युनिष्ट आन्दोलनसँग जोडेर हेर्नु अनिवार्य बनेको छ । जनतालाई मुक्ति दिलाउने भनेको कम्युनिष्टहरुले नै हो, यसमा कुनै शंका छैन तर विश्वमा कम्युनिष्टहरु असफल हुनुका मुल कारणहरु मध्ये सीताजीको सुनका चुराका जस्ता घटना प्रधान बनेर आइरहेका छन् । कम्युनिष्ट नेताका ‘बोलिएका भनाई र देखिएका गराईमा हुन्ने आकाश पातालको भिन्नता’ पनि कम्युनिष्ट असफल हुनुका कारण हुन् । जब ‘भनाई र गराईमा भिन्नता’ आउँछ तव त्यसको आलोचना स्वभाविक हुन्छ नै ।

हिजो चाँही सुनका चुरा लगाउने सामान्ती र शोषक भनेर ब्याख्या र प्रचार गर्ने र गराउने अनि आज आफैले लगाउँदा चाँही के हुने हो ? बिरोधीले स्वभाविक रुपमा यस्ता जायज प्रश्न उठाउँछन् । त्यसलाई निषेध र बिरोधका रुपमा होइन, समिक्षाका रुपमा कम्युनिष्टले हेर्नु पर्ने हुन्छ । जसले बिरोध गरेको छ, त्यसलाई प्रतिक्रियावादी, सामान्ती, दक्षिणपन्थी, बर्ग शत्रु भनेर वुझने भन्दा पनि त्यसलाई आफै भित्र समिक्षा गर्नु जरुरी देखिन्छ । – प्रकाश उज्यालो ब्लगस्पट डटकमबाट