साउन ५ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टको नक्कली दस्तखत गरी अस्पतालमा छाप लगाउन आएका एक स्वास्थ्य सहायक शुक्रबार पक्राउ परेका छन् ।
राजविराज–७ स्थित युनिक एजुकेसनल एकेडेमीबाट स्वास्थ्य सहायक उत्तीर्ण गरेका राजविराज–७ का रन्जनकुमार यादवले मेसु डा शैलेशकुमार झाको दस्तखत आफँै गरी सगरमाथा अञ्चल अस्पतालमा छाप लगाउन आएका बेला प्रहरीले पक्राउ गरेको हो ।
स्वास्थ्य व्यवसाय परिषद्मा दर्ता गर्नका लागि सम्बन्धित व्यक्तिको लगबुक र डायरी अस्पतालले प्रमाणित गर्नुपर्ने हुन्छ ।
व्यक्तिगत लगबुक र डायरी नल्याएपछि अस्पतालले उनलाई कागज प्रमाणित नगरी फर्काएकामा नक्कली दस्तखत गरी छाप लगाउन आउँदा पक्राउ परेको उनले स्वीकारेका छन् ।
पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस