साउन ४ । असारको मध्याह्नतिर एकीकृत नेकपा माओवादी केन्द्रिय समिति बैठक चलिरहेको थियो । बैठकमा पदीय भागभण्डाको विषय नमिलेर निक्कै लफडा मच्चिरहेकै बेला पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईले पनि पदबाट राजीनामा दिएपछि विवाद उत्कर्षमा पुग्यो । त्यसपछि विस्तारित बैठकबाट विवाद हल गरिने भन्दै  बैठक स्थगित गरियो । र, आज (शुक्रबार) देखि विस्तारित बैठक पनि ललितपुरस्थित खन्ना गार्मेन्टमा सुरु भएको छ ।

बैठकको उदघाटन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘चीलले कुखुराजस्तो जमीनमा ओर्लेर खोस्रेको देखेपछि कुखुराहरुले यो पनि हामीजस्तै भएछ भन्ने ठाने पनि पार्टी कुखुराजस्तो नभएर चीलजस्तो भएको भएको बताए ।

उदघाटनका क्रममा उनले आगामी चुनावमा जनताले जित्नुपर्ने भन्दै कुनै पार्टीले जित्ने वा हार्ने कुरा ठूलो नभएको बताए ।

तोकिएको समयमा चुनाव भएन भने यो चुनाबी अभियानलाई आन्दालनेमा परिणत गरिने चेतावनी दिँदै उनले  आगामी चुनावमा १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दालने, मधेस आन्दोलन र सम्पूर्ण उ्त्पीडित जाति क्षेत्र र लिंगका जनताको भावना अनुसार परिवर्तनका एजेन्डालाई संविधानसभा मार्फत संविधान बनाएर संस्थागत गर्नुपर्ने बताए ।

पदिय विवादका लागि बोलाइएको उक्त विस्तारित बैठकमा उनले उपाध्यक्ष भट्टराईको राजीनामाका सम्बन्धमा भने मुख समेत खोलेनन् ।

तर उपाध्यक्षबाट राजीनामा दिएका डा. बाबुराम भट्राईले भने  आफूले गरेको पद त्यागको घोषणा समस्या नभएर समाधान भएको बताए ।

 बैरीहरुले माओवादी पार्टी सिद्धियोस् भनेर धूप हालेर बसेको उल्लेख गर्दैै उनले  पार्टी झनै एकतावद्ध भएर अगाडि बढ्ने बताए ।

अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हेटौडा महाधिवेशनको कार्यदिशाअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिए ।

चुनावका लागि भन्दा पनि क्रन्तिकारी पार्टी बनाउन र जनताको संविधान निर्माण गर्न एकतावद्ध हुने प्रतिवद्धताका लागि यो विस्तारित बैठक आयोजना भएको उनको भनाई थियो ।

उनले त्यहाँ बोल्दै पार्टीलाई प्रदुषण विकृति विसंगतिबाट पार्टीलाई मुक्त गरेनौं भने बुर्जवा पार्टीमा रुपान्तरण हुने खतरा रहेको समेत औँल्याए ।

एमाओवादीमा अध्यक्ष मात्रैको प्रस्ताव

आजबाट सुरु एमाओवादी विस्तारित बैठकमा अध्यक्ष पद मात्रै राखेर अन्य सबैलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव लगिएको छ । तर आजका लागि भने बैठक स्थगित भएको छ ।

उक्त प्रस्ताव पारित भएमा अब माओवादी भित्रका सबै पदाधिकारी केन्द्रिय सदस्यमा परिणत हुनेछन् । उपाध्यक्ष पदबाटभट्टराईले राजीनामा दिएपछि निक्कै पटक विवाद मिलाउन विभिन्न तहका छफल हुँदा समेत कुरा नमिलेपछि यस्तो प्रस्ताव आउन लागेको हो ।

यसअघि भट्टराईलाई बरिष्ठ उपाध्यक्ष बनाउने प्रस्तावमा स्वयम् बाबुरामले अस्वीकार गरेका थिए । त्यसपछि पार्टी पदीय विवाद मिलाउन अब अध्यक्ष बाहेक सबैलाई केन्द्रिय सदस्य बनाउने प्रस्ताव आएको हो ।

प्रस्तावहरु राज्य समिति, अन्तराष्ट्रिय विभाग, सल्लाहकार र जनवर्गीय संगठनहरुको मोर्चामा छलफलका लागि दिइएको छ । भोलि बिहान समूहगत छलफलपछि मध्याहृन छलफलमा निष्कर्षहरु पेश गरिने बताइएको छ ।
३ दिनसम्म चल्ने विस्तारित बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार र राज्य समिति इन्चार्जहरु गरी झण्डै साढे ४ सय सहभागी सहभागी रहेका छन् ।

तस्विर: प्रदीप श्रेष्ठ

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।