मुलुकका समस्या वार्ता, संवाद र छलफलबाट समाधान हुनेमा सरकार विश्वस्त रहेको उल्लेख गर्दैै वार्ताका निम्ति मन्त्रिपरिषद् परामर्श तथा समन्वय समितिका संयोजक एवम् गृहमन्त्री माधवप्रसाद घिमिरेले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई आज औपचारिकरूपमा पत्राचार गरेका छन् ।
अध्यक्ष वैद्यलाई मन्त्री घिमिरेले पठाएको पत्रमा भनिएको छ–“सरकारले मुलुकमा विद्यमान राजनीतिक अन्तर्विरोधलाई समाधान गर्न विभिन्न राजनीतिक दलहरूलाई वार्ताका लागि आह्वान गरेको व्यहोरा अवगत नै छ । तथापि नेकपा–माओवादी र सम्बद्ध मोर्चासँग औपचारिक वार्ता हुन सकेको छैन । हालै नेकपा–माओवादीले वार्ता गर्ने निर्णय गरेको र त्यस प्रयोजनको लागि वार्ता समितिसमेत गठन गरेको विषयलाई सरकारले सकारात्मकरूपमा लिई स्वागत गर्दछ ।”
पत्रमा वार्ताको स्थान र समय दुवै पक्षको सहमतिमा निर्धारण गर्न सकिने जानकारी गराउँदै संविधानसभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्नेतर्पm सरकारको ध्यानकेन्द्रित रहेको उल्लेख छ । रासस