साउन ४ । नेकपा (एमाले) को आज सुरु भएको केन्द्रीय कमिटीको २२औँ बैठकमा तोकिएको समयमा संविधानसभाको निर्वाचन हुनुपर्ने लगायतका विषय समेटिएको अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रस्ताव वितरण गरिएको छ ।

सो प्रस्तावमाथि भोलिको बैठकमा छलफल हुने जनाइएको छ ।

बैठकका लागि राजनीतिक प्रस्ताव, संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान–२०७० को समीक्षा, केन्द्रीय कमिटीमा मनोनयन, केही सङ्गठनात्मक प्रस्ताव, संविधानसभा निर्वाचनको तयारी, राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक र विविध कार्यसूची तय गरिएको छ ।

आजको बैठकपछि केन्द्रीय सचिवालयका सचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा देशभित्र र बाहिर विभिन्न भागमा बाढी, डुबान र पहिरोबाट व्यापकरूपमा जनधनको क्षति भएकामा पार्टीले दुःख व्यक्त गर्दै विस्थापित र पीडित परिवारप्रति सहानुभूति प्रकट गर्दै उहाँहरूको राहत प्रयासमा ऐक्यबद्धता प्रकट गरेको जनाइएको छ ।

यस्तै बैठकले केहीअघि सवारी दुर्घटनामा घाइते भएका केन्द्रीय कमिटीका सदस्य किरण गुरुङको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।