साउन ५ । नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईले चीन सरकारको नयाँ नेतृत्वले नेपाललाई विशेष प्राथमिकताको सूचीमा राखेको बताएका छन् ।
अरनिको समाज र नेपाली पत्रकारसँगको शुक्रबार भएको भेटघाट कार्यक्रममा राजदूत चुन्ताईले भने–“चीनमा नयाँ नेतृत्व आएको छोटो समयमै चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले नेपाल भ्रमण गरेको र एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य र नेपाली सेनाका प्रधानसेनापति गौरव शम्सेर राणाले चीनको भ्रमण गर्नुले चीनको नयाँ नेतृत्वले नेपाललाई विशेष प्राथमिकतामा राखेको प्रष्ट हुन्छ ।”
उनले नेपाल र चीनको सम्बन्ध सदियौँदेखि रहिआएको र सो सम्बन्ध औपचारिकतामा मात्रै सीमित नभई एकआपसको सहयोगमा आधारित सम्बन्ध रहेको बताए ।
चीन नेपालको राजनीतिक, आर्थिक र सामाजिक समस्या समाधान गर्नका लागि सहयोग गर्न तयार रहेको उनको भनाइ थियो ।
अरनिको समाजका अध्यक्ष डा सर्वोत्तम श्रेष्ठले चीनले नेपाललाई दिँदै आएको सहयोगको सराहना गर्दै दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए ।