विगत लामो समयदेखि नेपाल खाद्य संस्थान कोल्टी डिपोमा चामल सकिएपछि चामल मागका लागि दबाब दिन कोल्टी क्षेत्रका जनताले आज धर्ना दिएका हुन् ।
उत्तरी क्षेत्रका ११ गाविसका जनता र कोल्टीस्थित सङ्घसंस्थाको संलग्नतामा कोल्टीमा भोक जुलुस तथा खाद्य संस्थान अगाडि धर्ना दिएका हुन् । बाँच्नका लागि खाद्यान्न देऊ, जनताको खाद्य अधिकार सुरक्षित गर भन्ने नाराका साथ कोल्टी बजार परिक्रमा गरेको कोल्टी डिपो प्रमुख रमेशबहादुर सिंहले बताएको समाचार संस्था राससले उल्लेख गरेको छ ।
![]() |
केही समय अगाडी दार्चुला जिल्ला प्रशासनले दुई किलो चामलका लागि एक व्यक्तिलाई लगाईदिएको तोक । |
कोल्टी गाविसका रामबहादुर खत्रीका अनुसार स्थानीयवासी खाद्य डिपोको ढोकामा झुण्ड्याइएको भोटेताल्चाका अगाडि दुई घण्टासम्म भोको पेटमा पटुका बाँधेर अनसनसमेत बसेका थिए ।
सर्वाधिक खाद्यान्न सङ्कट भइरहने बाजुराका कोल्टी र मार्तडी क्षेत्रका अधिकांश जनता खाद्य संस्थानमा आश्रित छन् । कोल्टी डिपोमा सहुलियत दरको चामल सकिएको एक महिना बित्न लाग्दा पनि सरकार बाजुरेलीको खाद्य अधिकारप्रति उदासिन भएको आक्रोश स्थानीय बासिन्दाको छ ।
डिपो प्रमुख रमेशबहादुर सिंहका अनुसार डिपोमा ४५ क्वीन्टल चामल मात्र मौज्दात छ, नियमितरूपमा चामल बिक्री गर्ने अवस्था छैन । किरियापुत्री र दैवीप्रकोपमा परेका मान्छे पहिचान गरी बढीमा दश किलो चामल उपलब्ध गराउँदै आएका थियौं, अब त्यो अवस्था पनि छैन, डिपो प्रमुख सिंहले भने ।
खाद्य संस्थान बाजुरा शाखा प्रमुख वासुदेव भट्टले जिल्लाको खाद्यान्न सङ्कटलाई मध्यनजर गरी दुई साताअघि नै सम्बन्धित निकायमा पत्राचार गरिसककेको बताए । संस्थानले सहुलियत दरमा मोटो अरुवा चामल प्रतिकेजी रु ४० मा बिक्री गथ्र्यो भने खाद्य गोदाम रित्तिदा कोल्टी बजारमा सोही गुणस्तरको चामल प्रतिकिलो रु ८० मा व्यापारीले बिक्री गरेको र सो पनि नपाइएको स्थानीय जया गिरीले बताए ।