साउन ३ । जिल्ला अदालत पर्साले बाराको सिमरास्थित जगदम्बा स्टिल्स प्रालिका कार्यकारी निर्देशक रोसित उन्नितथान र महाप्रबन्धक कमलजीत बर्मालाई किर्ते जालसाजीको अभियोगमा पूर्पक्षका लागि जेल चलान गरेको छ ।

पूर्वकर्मचारी ओमप्रकाश बैठालाई भने धरौटीमा छाडिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

पर्सा जिल्ला अदालतले आज बैठालाई रु ५ लाख घरौटीमा छाड्न र अन्यलाई कारागार चलान गर्न आदेश दिएको हो । उन्नितथान र बर्मा भारतीय भएकाले धरौटीमा छाड्न नमिलेको प्रहरी नायव उपरीक्षक वासुदेव खतिवडाले बताए ।

गाडी खरिदको कागज र छाप किर्ते गरेको अभियोगमा पक्राउ परेका उनीहरूलाई प्रहरीले थुनछेक बहसको लागि अदालतमा उपस्थित गराएको थियो ।

जगदम्बाले मोडल नम्बर २००५ को सिट संख्या ७ भएको महेन्द्रा स्कारपियो गाडी वीरगन्ज भन्सारबाट २०६८ पुस ७ गते लिलामी सकार गरेकामा किर्ते गरी मोडल नम्बर २०१० र सिट संख्या ९ बनाई ना२च ४६६२ नम्बरमा दर्ता गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान थालेको थियो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।