साउन ३ । अफगानिस्तानको जेलबाट आममाफी पाएर रिहाइ भएका तनहुँका तिलबहादुर थापामगरले आफूले भोग्नुपरेको जस्तो समस्या अन्य नेपालीलाई नपरोस् भन्नेतर्फ नेपाल सरकार गम्भीर हुनुपर्ने बताएका छन् ।

थापाले आफ्नो रिहाइमा नेपाल सरकारले असल अभिभावकको भूमिका निर्वाह गरेको बताउँदै विदेशमा जोखिमपूर्ण रोजगारी गरिरहेका नेपालीलाई उद्धारका लागि पनि सरकारले काम गर्नुपर्ने बताए ।

अफगानिस्तानको सर्वोच्च अदालतले २० वर्षको जेल सजाय सुनाए पनि राष्ट्रपति हमिद कारजाईले आममाफी दिएपछि २७ महिनाको कारावासबाट स्वदेश फर्कन सफल थापामगरले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी रिहाइका लागि पहल गर्ने स्वदेशी तथा विदेशी निकाय र व्यक्तिहरूप्रति आभार प्रकट गरे ।

उनले भने – “रोजगारीका लागि विभिन्न देशमा पुगेका नेपालीहरू विभिन्न बहानामा जेल पर्ने गरेका छन्, सम्बन्धित देशको भाषा र संस्कृति नबुझ्दा अधिकांश नेपालीले शारीरिक र मानसिक तनाव बेहोरिरहेका छन्, उनीहरूको उद्धारका लागि सरकारले मेरोमा जस्तै पहल गरिदिनु पर्छ ।”

अफगानिस्तानको हेलमन्ड प्रान्तको एक निर्माणसम्बन्धी बहुर्राष्ट्रिय कम्पनीमा सुरक्षा प्रमुखको रुपमा कार्यरत थापामगरलाई पाकिस्तानी गुप्तचर संस्था आइएसआइलाई अफगानिस्तानसम्बन्धी सूचना दिएको अभियोगमा अफगानी जासुसी संस्था एनडिएसले पक्राउ गरेको थियो ।

उनलाई स्थानीय र पुनरावेदन अदालतले १६ वर्षको काराबास सजाय सुनाएकामा सर्वोच्च अदालतले चार वर्ष थपेर २० वर्ष पु¥याएको थियो ।

थापामगरले एनडिएसले कम्पनीमै कार्यरत माहम्मद असगरलाई पक्राउ गरेको र उनले यातना सहन नसकी आफ्नो नाम समेत पोलेकाले आफूले अनाहक सजाय भोग्न परेको बताए ।

उनी अफगानिस्तानको जेलबाट असार २९ गते रिहा भएर भोलिपल्ट स्वदेश फर्केका थिए । आफ्नो रिहाइमा सहयोग गर्ने तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली राजदूत भरतराज पौड्याल, नेपाल मानवअधिकार आयोगका सदस्य गौरी प्रधान र शुभचिन्तकलाई उनले धन्यवाद पनि दिए । रासस


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।