साउन २ । निर्वाचन आयोगमा नाम दर्ता गराउने अन्तिम दिनसम्म गोरखामा एक लाख ३४ हजार ८७१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

सो सङ्ख्या संविधानसभा निर्वाचन २०६४ सालमा भन्दा एक लाख १५ हजार ७४ जनाले कमी रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख अशोक कोइरालाले बताए ।

यसअघि गोरखाको निर्वाचन क्षेत्र नं १ मा ८८ हजार ११७, क्षेत्र नं २ मा ८५ हजार २४३, क्षेत्र नं ३ मा ७६ हजार ५८५ मतदाता थिए । यस पटक सोमबारसम्म क्षेत्र नं १ मा ५० हजार १७, क्षेत्र नं २ मा ४३ हजार ८२२ र क्षेत्र नं ३ मा ४१ हजार ३२ रहेका छन् ।

मतदाताको सङ्ख्या घट्नुको कारण मृत्यु, बसाइसराइ र वैदेशिक रोजगारीमा जानु रहेको नेपाली काँग्रेस गोरखाका सभापति हरिबहादुर घले बताउँछन् ।

कतिपय मानिसहरू खेतीपातीको काम नसकेर नामावली दर्ता गर्ने स्थानसम्म नआएको एमाले अध्यक्ष रामशरण बस्नेतको भनाइ छ । मतदाता नामावली सङ्कलन गर्ने समय थप गर्नुपर्ने एनेकपा (माओवादी)का नेता लेखबहादुर थापाको भनाई छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।