असार ३० । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले आफ्नो पार्टी वार्ताको लागि तयार रहेपनि संयन्त्र र सरकारले कुनै सर्त अगाडि सारे आफू वार्तामा नबस्ने बताएका छन् ।

आइतबार राजधानीको संवाद डबलीमा युवा नेता तथा लेखक कर्णजित बुढा ‘शुसिल’ द्वारा लिखित ‘नाटक नै याथार्थमा बदलियो’ शिर्षकको कृति विमोचन कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् ।

वार्ताको माध्यमबाट निकास खोेज्न हाम्रो पार्टीले बार्ता टोली गठन गरेपनि सरकार र चार दल ठोस रुपमा नआएको बताए । ‘हाम्रो पार्टीले वार्ता टोली गठन गरेर वार्ताको लागि तयार रहेपनि उनीहरु (सरकार र सरकारपक्षिय पार्टी) गम्भीर बन्नुभएको छैन, बाहिर हल्ला गरेपनि ठोस रुपमा छलफलमा आउनुभएको छैन’ वैद्यले भने, ‘सरकार र सरकार पक्षिय पार्टी विना सर्त वार्तामा आउन तयार देखिदैन ।’ हाम्रो लचकतालाई कमजोरीको रुपमा नलिन सरकार र चार दललाई अध्यक्ष वैद्यले आग्रह गरे । उनले ३३ दलिय मोर्चालाई औपचारिक रुपमा वार्ताको लागि आह्वान गर्नुपर्ने बताए ।

चैत्र १ गतेको संविधान संशोधन र राष्ट्रपतिद्वारा २५ बाधा अड्काउ फुकाउ आदेश खारेज गरी सर्व दलिय सरकार निर्माणको लागि विना सर्त आफूहरु वार्ता र गोलमेचसभामा बस्न तयार रहेको अध्यक्ष वैद्यले बताए ।

एक अर्को प्रसंगमा वैद्यले हालै आफ्नो नेतृत्वमा भएको चीन भ्रमण दुई कम्युनिस्ट पार्टीबीच सम्बन्ध सुमधुर बनाउन सफल भएको बताए । उनले ‘चीनले नेपालमा राजनीतिक स्थायीत्व चाहेपनि आन्तरिक मामलामा कुनै दबाव दिएको छैन’ भने ।

पुस्तकको चर्चा गर्दै वैद्यले जनताको भोगाई र जनयुद्धको इतिहास भएको बताए । बरिष्ठ प्रगतिशील साहित्यकार इश्वरचन्द्र ज्ञावलीले पुस्तकको चर्चा गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।