राजधानीको किर्तिपुरमा शनिबार नेवा ब्यूरो, केन्द्रिय कार्यालय, नेवा तथा ताम्सालिंग राज्यसमिति स्तरीय प्रशिक्षणको आयोजना गरी कार्यकर्तालाई सक्रिय र सशक्त प्रतिरोध गरेर निर्वाचन बहिस्कार गर्न निर्देशन दिएको हो ।
उक्त प्रशिक्षणमा पार्टी अध्यक्ष मोहन वैद्य किरणले नाटक रचेर देशलाई फसाउन खिलराज रेग्मीको नेतृत्वमा सरकार निर्माण गरेको र त्यही सरकारले जनतालाई सम्बोधन हुने गरी भन्दा पनि देशलाई फसाउने षड्यन्त्र गरेर अर्को संविधानसभा चुनावको मिति घोषणा गरी नौटंकी रचेको र त्यसले कुनै नेपाली जनताको हितमा हुने संविधान पनि जारी गर्न नसक्ने र निकास पनि दिन नसक्ने भएकाले अहिले बहिस्कार बाहेक अरु विकल्प नभएको बताए ।
पछिल्लो पटक राष्टियता र स्वाधिनतामा थप संकट पैदा भएको छ वैद्यले लगभग ४ सय राज्यसमिति स्तरीय कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै भने- ‘तपाईहरुले के कुरा बुझ्न आवश्यक छ भने उनीहरु (निर्वाचन गर्न खोजिरहेका दलहरु) ले निर्वाचन नै गरेपनि त्यसबाट कुनै पनि हालतमा जनताको संविधान बन्नै सक्दैन, त्यसले देशको संकट पनि समाधान गर्न सक्दैन ।’
वर्तमान सरकारको विघटन गरी दलिय सरकार बन्नुपर्ने र गोलमेच सम्मेलनको माग गर्दै लामो समयदेखि आन्दोलनरत माओवादीका अध्यक्ष वैद्यले आफूहरुलाई बहिस्कार गरेर चुनाव गराए त्यसलाई हुनै नदिने र बन्दुकको भरमा गराए आफूहरु पनि हातमा दही जमाएर नबस्ने भन्दै तयारी थाल्न निर्देशन समेत दिए ।
विदेशी शक्तिहरुले क्रान्तिकारी शक्तिहरुलाई राख्नै नदिने खेल खेलिरहेको र आफ्नो पार्टीलाई पनि संसदीय भासमा फसाउन खोजेको भन्दै उनले आफ्नो पार्टीलाई पनि संसदीय खेलमा फसाउने त्यो नसके दमन गर्ने नीतिका साथ अघि बढेको भन्दै संसदीय व्यवस्थाले नेपाली जनताको समस्या समाधान गर्नै नसक्ने बताए ।
कार्यक्रममा पार्टी उपाध्यक्ष सिपी गजुरेलले पछिल्लो चीन भ्रमणले पार्टीलाई नयाँ उचाईमा पुर्याएको बताए । उनले चीनले निर्वाचनमा भाग लिन नभनेको समेत बताए ।
पार्टी महासचिव राम बहादुर थापा बादलले निर्वाचन भनेर गरिएको नौटंकीको चुनावमा गद्धारहरुलाई भोट हाल्न रोक्न र जनतालाई सुसुचित गराउन कार्यकर्तालाई आदेश दिए ।
यो सरकारले गरेको निर्वाचनबाट जनताका कुनै पनि समस्या समाधान नहुने, जनताको संविधान पनि बन्न नसक्ने तथा संघीय गणतन्त्र स्थापना हुन पनि नसक्ने भन्दै यस्तो नौटंकीपूर्ण चुनाव पूर्ण रुपमा बहिस्कार गर्न उनले निर्देशन दिए ।
उनले असार १० गतेबाट प्रचारात्मक आन्दोलन, साउनबाट सचेनात्मक तर अलिक उच्च तहको र भदौबाट भने उच्चतम तहका आन्दोलनका लागि कार्यकर्तालाई तयारी रहन आग्रह पनि गरे ।
आन्दोलनबाट यथास्थितिको अन्त्य हुने भन्दै त्यसबाट आफ्नो पार्टी कुन ठाउँमा रहन्छ भन्ने पनि कल्पना गरिसकेको समेत बताए ।