मुस्लिमहरूको पवित्र महिना रमादान आजदेखि सुरु

उमाकान्त पाण्डे गाउंले
असार २६ । मुस्लिम समुदायले मनाउने पवित्र महिना रमादान बुधवारदेखि सुरु भएको छ । इस्लामिक पात्रोअनुसार चन्द्रमालाई आधार बनाएर रमादान सुरु भएको घोषणा गरिने हुँदा चन्द्रमाको गतिसँगै समयमा आएको फरकले विभिन्न देशमा रमादानको समयमा समेत केही फरक हुने गर्छ ।

मुसलमान समुदायले पवित्र चाड रमादान पर्व एक महिना सम्म मनाउने गर्छन् । यो पर्वमा मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बस्ने र आत्मसंयमका लागि प्रार्थना गर्ने प्रचलन रहेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

यस् पर्वमा एकमहिने व्रतमा सधैं खाइरहने धनीहरूले समेत भोकै बसेर गरिबहरूको भोक अनुभव गर्न सक्ने मान्यतामा आधारित छ । यो अवधिभर सबै मुस्लिम उपवास बस्ने गर्छन् । तर बालक, बिरामी, मानसिक सन्तुलन ठीक नभएका र अशक्तहरूमा यो उपवास अनिवार्य छैन । रमादान सकिएको भोलिपल्ट ईद-उल फित्र (ईद) मनाइन्छ । ईद नमाज -ईदुलफित्र अदा) पढ्नुअघि आफ्नो बचतको अढाई प्रतिशत रकम वा बचत नभए अढाई केजी गहुँ -फित्रा) बराबरको मूल्य वा अन्न गरिबलाई दान गर्ने संकल्प गर्नु मुस्लिम समुदायमा अनिवार्य छ ।

संसारभरिका मुस्लिमहरूले रमादानको एक महिनासम्म घाम झुल्किएदेखि सूर्यास्त नहुन्जेलसम्म पानीसमेत नपिई कठोर व्रत राख्छन् । इस्लाम धर्ममा रमादानको महिनाभरि स्वर्गको ढोका खुला हुन्छ र नर्कको ढोका थुनिन्छ भन्ने विश्वास रहेको छ । सूर्योदयभन्दा केही समयअघि सेहरी -बिहानको खाना) र सूर्यास्तपछि इफ्तार खाने चलन छ । इस्लाम धमार् वलम्बीहरूले दैनिक पाँचपटक प्रार्थना (नमाज) पढ्ने गर्छन् । इस्लामिक मुलुकहरूमा रमादानको महिनाभरि सार्वजनिक स्थलमा खाएको, पिएको वा धूमपान गरेको पाइएमा सजायको भागीदार हुनुपर्ने कानुनी प्रावधान रहेको पाइन्छ ।

संयुक्त अरब इमिरेट्स्मा यो परम्परा उल्ल्लंघन गरिएको पाइएमा एक महिनासम्म जेल सजाय वा दुई हजार-करिब नेरु ४० हजार) सम्म जरिवाना हुनसक्ने यूएईको फेडेरल पेनेल कोर्टमा व्यवस्था गरिएको पाइन्छ । त्यस्तै यूएईको फेडरल ल १९८० को धारा ६५ मा कामदारले खाइपाई आएको तलब नघट्ने गरी रमादान अवधिभर साविकको काम गर्ने समय ८ घन्टालाई घटाएर ६ घन्टा कायम गरिएको छ ।

यो महिनाको अवसरमा खाडीस्थित नेपाली मुस्लिम अग्रजहरूले शुभकामना प्रकट गरेका छन् । नेपाल मुस्लिम फोरम फर कल्चर एन्ड डेभलेपमेन्ट, यूएईका महासचिव शाह नवाज अख्तरले यहाँस्थित सम्पूर्ण मुस्लिम र गैरमुस्लिम नेपालीमा रमजानको शुभकामना प्रकट गरे । हामी सबै मिलेर रमादान पर्व खुशीयालीका साथ मनाउ उनले भने ।

उनले जुन मुलुकमा आफू बसोबास गरिन्छ सोही मुलुकको देशको कानुनलाई इमानदारीपूर्वक पालना गर्नुपने इस्लाम धर्मको हदिसमा लेखिएको कुरा उल्लेख गर्दै धार्मिक सहिष्णुताको उदाहरणीय मुलुक नेपालबाट यहाँ आएर बसोबास गर्ने सम्पूर्ण नेपालीबाट सधैंका वर्षजस्तै यस वर्ष पनि यहाँको कानूनको पूर्णता पालना हुनेमा विश्वास प्रकट गरे ।

नेपाली मुस्लिम समाज कतारका फाउण्डर मेम्बर तथा संस्थापक महासचिव सामाजिक कार्यकर्ता करिम बकस मियाले यो आत्मशुद्धिको पर्व भएको उल्लेख गर्दै सम्पूर्ण मानवजातिको कल्याणको लागि उपयोगी होस् भन्ने कामना प्रकट गरे । उनले भने ‘सुखीले दुखलाई चिन्ने,दुखमा सुखको अनुभूति हुने,तथा नैतिकता,अनुशासन र आत्मीयताको महिना भएकोले रमादान सम्पूर्ण जगतमा मुबारक बनोस।’