असार २६ । नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभा निर्वाचनका लागि सर्तसहित वार्तामा बस्न तयार रहेको बताएका छन् ।

मार्टिन चौतारीले मंगलबार राजधानीमा आयोजना गरेको ‘नेकपा–माओवादी पोखरा बैठकको निर्णय र भावी संविधानसभा निर्वाचन’ विषयक कार्यक्रममा उनले चार दलले सरकार विघटन र मङ्सिर ४ गते चुनाव गर्ने बाहेकका विषयमा मात्र सर्त राखेर वार्तामा बस्न आग्रह गरेकाले केही सर्तबिना वार्तामा नजाने स्पष्ट पारे ।  

सचिव गुरुङले भने, ‘चार दलले चुनावी सरकार विघटन नगर्ने र मङ्सिर ४ गते संविधानसभा निर्वाचन गर्ने बाहेकका कुरामा सर्त राख्न पाइने भनेका छन्, सर्तसहितको वार्तामा जाँदा वर्तमान सरकार निर्माण गर्न बनेको २५ बुँदे सहमति असंवैधानिक भएकाले त्यो सच्याउनुपर्छ ।’

उनले संविधानसभाबाट नै संविधान बनाउने हो भने अधिकारसम्पन्न सार्वभौमसत्तासहितको संविधानसभा बनाउनुपर्छ, पद, कुर्सी पैसाका लागि दलहरु विदेशीको इसारामा चल्ने हो भने संविधानसभा गठन गर्नुको कुनै औचित्य नभएको बताए ।

नेता गुरुङले ताला, चाबी विदेशीको हातमा दिएर संविधानसभा गठन गर्नुको कुनै अर्थ छैन, चार दल सत्तालिप्सा, अलोकतान्त्रिक भएका कारणले गर्दा मुलुकको राष्ट्रियता र सार्वभौमसत्तामा ठूलो असर परेको बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।