असार २५ । श्रीमती सीता दाहालको उपचार गर्न सिंगापुर पुगेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक भ्रमण छोट्याएर राजधानी आईपुगेका छन् ।

पूर्व निर्धारित कार्यक्रम अनुसार उनी भोली मात्रै नेपाल आईपुग्ने भएपनि भोलि नेपाल आउँदा भारतीय भारतीय विदेशमन्त्री सलमान खुर्सिदसँग भेट नहुने भएपछि उनी आजै एक्कासी नेपाल आईपुगेका हुन् ।

स्वदेश फिर्ताको क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले आफु भ्रमण छोट्याएर नभई उचित समयमा नै आएको बताएका थिए । सो क्रममा उनले सीताको स्वास्थ्य अवस्थाबारे भने खासै बोलेनन् ।

स्रोतका अनुसार खुर्सिदसँग भेट तय भएपछि उनी भ्रमण छोट्याएर आईपुगेका हुन् ।

यसअघि भारतीय विदेशमन्त्रीको भ्रमण दुई दिने भनिएको थियो । तर, उनले आफ्नो भ्रमण छोट्याएपछि प्रचण्ड पनि हतार हतारमा आइपुगेका हुन् ।

यसैबीच, अहिले प्रचण्ड लगायत सबै एमाओवादीका उच्च नेताहरुले होटल द्धवारिकामा खुर्सिदसँग भेटघाट गरिरहेको सञ्चारकर्मी गोविन्द काफ्लेले बताएका छन् ।

भेटमा अध्यक्ष प्रचण्ड, उपाध्यक्षद्धय बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ, महासचिव पोष्टबहादुर बोगटी, कृष्णबहादुर महरा, हिसिला यमीलगायतका नेताहरु त्यहाँ पुगेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।