काठमाडौं ३१ असोज
ठमेलमा फेला परेको तस्करीको ८८ किलो सुन तस्करीका नाइके मध्ये एक जना बेला बखत प्रधानमन्त्री शेरबहादुर देउवाकै अघिपछि हिड्ने गरेको पाइएको छ ।
प्रहरीको गहिरो अनुसन्धानपछि पक्राउ परेका मानबहादुर तामाङ प्रधानमन्त्रीसँग सम्पर्कमा मात्र नभएर कांग्रेसको समानुपातिकमा सिफारिस भएको समेत पाइएको छ । रसुवाको क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा उनी परेका थिए । टिकट फुत्काउन काठमाडौं आएका बेला भने प्रहरीले उनैलाई फुत्काउन सफल भएको हो ।
रसुवाको क्षेत्र नम्बर २ बाट कांग्रेसको समानुपातिक कोटामा पर्न काठमाडौं आएका उनी पार्टीले निर्वाचन आयोगमा उम्मेदवारको सूची बुझाएको भोलिपल्ट सोमबार पक्राउ परेका हुन् ।
काठमाडौंमा सुन कारोबारीको आवरणमा रहेका व्यवसायी, तामाङ र चिनियाँ नागरिक मिलेर तस्करी गर्ने गरेको र तामाङले केरुङ नाका कटाएर काठमाडौंसम्म ल्याउन सघाउने गरेको खुलेपछि प्रहरीले उनको खोजी गरेको थियो । उनी नेपाल–चीन–केरुङ व्यापार संघको अध्यक्ष समेत हुन् ।
केरुङ नाका, धादिङ र नुवाकोटको नाकाबाट सुन बोकेर सवारीसाधन सहजै कटाउने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । काठमाडौंमा सुन बरामद भएसँगै चीन हिँडेका उनी अर्धभूमिगत पारामा उतै बसेका थिए । सुन पक्राउ परेपछि उनको सम्पर्क बालुवाटारसम्म भएको समेत प्रहरी अनुसन्धानले देखाएको बताइएको छ । त्यसो त उनी यसअघि पनि प्रधानमन्त्री रहेका कांग्रेस सभापति देउवासँग भेटघाटमा रहेका पाइएको छ ।
Comments