आज बसेको मन्त्रिपरिषद्को बैठकले सो संस्थालाई वैकल्पिक व्यवस्था गर्नका लागि उद्योग मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक समिति गठन गरिएको र अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयका सहसचिवलाई कारखानाको महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय पनि गरेको छ।
बैठकपछि सूचना तथा सञ्चारमन्त्री तथा नेपाल सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले सो निर्णयबारे पत्रकारहरुलाई जानकारी दिए ।
बैठकले सीप विकास परियोजनाका लागि एसियाली विकास बैंकले उलपब्ध गराउने करिब एक अर्ब ९० करोड रुपैया अनुदान स्वीकार गर्ने, नेपाल भारत क्षेत्रीय व्यापार प्रवर्द्धनका लागि विश्व बैंकको आटिएबाट प्राप्त हुने ऋण तथा अनुदान रकम नौ करोड ९० लाख अमेरिकी डलरको सम्झौताका लागि अर्थ मन्त्रालयका सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ।
बैठकले स्वास्थ्य क्षेत्रमा केही अस्पताल स्थापना गर्नेसम्बन्धी गठन आदेशको स्वीकृति दिएको छ भने नेपाल रेडक्रस सोसाइटी र राष्ट्रिय मुद्रा सङ्ग्रहालयको स्वर्ण जयन्तीको अवसरमा चाँदीका सिक्का प्रकाशन गर्ने निर्णय गरेको छ।
बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बिमस्टेकको आर्थिक सम्पर्क विन्दुका रुपमा राष्ट्रिय योजना आयोग रहेकामा अबदेखि सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई जिम्मेवारी दिएको छ।
यस्तै, आदिकवि भानुभक्त आचार्यको दुई शतक वर्ष उत्सव मनाउन भानु विकास प्रतिष्ठानलाई रु. १६ लाख निकास दिने निर्णय गरेको प्रवक्ता पौडेलले जानकारी दिए।
बैठकले गरिबी निवारण लघुउद्योग कार्यक्रमको पाँचवर्षे रणनीति पारित गरेको छ भने निजामती सेवा र नेपाली सेनाका विभिन्न उच्चअधिकृतलाई विभिन्न सम्मेलनमा जान स्वीकृति दिएको छ।
बैठकले किराँत जनवादी वर्कर्स पार्टीसँग भएको सहमतिलाई कार्यान्वयन गर्ने र चमती विकास आयोजनाको घडेरी बिक्री गर्दा लाग्ने रजिस्ट्रेसन दस्तुर मिनाहा गर्ने निर्णय पनि गरेको छ। रासस